गाउँपालिकाले निकाल्यो गीत

दाङ
२१ चैत / रोल्पाको रुण्टीगढी गाउँपालिकाले गीत सार्वजनिक गरेको छ । सोमबार गाउँपालिकाले परिचयात्मक गीत ‘कुहिरोको घुम्टो ओढी’ सार्वजनिक गरेको हो । गाउँपालिकाको परिचय समेटिएको उक्त गीतको भिडियोलाई गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले विमोचन गरेका हुन् ।

गाउँपालिका धार्मिक तथा पर्यटकीय हिसाबले भरिपूर्ण भएको भन्दै यसलाई चिनाउनकालागि गीत सार्वजनिक गरिएको अध्यक्ष बुढाले बताए ।‘हामी गाउँपालिकाको नाम नै धार्मिक र पर्यटकीय क्षेत्रलाई समावेश गरिएको छ, यहाँ पर्यटनको राम्रो सम्भावना छ, तर, यसलाई प्रचार गर्न सकिएको छैन’,उनले भने‘त्यसैले हामीले यसलाई गीत मार्फत प्रचार गरेका हौं ।’

गीतमा यहाँको खानपान, परिवेश, भू–गोल, धार्मिक पर्यटकीय स्थल समेटिएको छ । रन्टीमा स्वर्गद्वारी प्रभु महाराजको जन्म भएको, गढीमा तपस्या गरेको र स्वर्गद्वारीमा गएर बसेको भन्ने मान्यता रहेको छ । त्यस्तै गीतको भिडियोमा यहाँको गुरास, डाँडापाखा,जाँड,शिवपार्वती गुफा,मुरुले लेक, सहीद मार्गलगायत गाउँपालिकाको चिनारी समेटिएको छ ।


यस अघि सोही गीतको अडियो विमोचन गरिएको थियो, भने अहिले उक्त गीतको भिडियो पनि निर्माण गरि विमोचन गरिएको हो । नबौं गाउँसभाबाट नीति तथा कार्यक्रममा समावेश गरि उक्त कार्य गरिएको छ । भिडियो निर्माणमा मात्रै ५ लाख विनियोजन गरिएको हो ।

सोही गीतलाई शुक्रबार युट्युवमा राखिने समेत गाउँपालिकाका पर्यटन फोकल पर्सन ध्रुब प्रकाश मल्लले बताए । सोही गीतमा प्रविण वेडवाल र रचना रिमालको श्वर रहेको छ । फोकल पर्सन मल्लले शब्द लेखन गरेको उक्त गीतमा आरुसी मगर, लक्ष्मी थापालगायतले अभिनय गरेका छन् । बीवी अनुरागीले उक्त गीतमा संगीत भरेका छन् ।