
दाङ, २२ असार ।
दाङको दंगीशरण गाउँपालिका वडा नं.६ स्थित बागर गाउँको बीचमा दुई वटा मुहान छन् । पानी पनि प्रसस्तै छ । त्यो पानी बगेर खेरै जान्छ । तर, त्यहाँ ट्याङ्की नहुँदा खानेपानीको हाहाकार हुन्छ । खानेपानीकै लागि आधा घण्टा हिडेर मुहान पुग्नु पर्ने बाध्यता त छ नै, मुहानमा गएर पनि एक घण्टासम्म पालो कुनुपर्ने अबस्था रहेको स्थानीय सीता चौधरीले गुनासो गर्नुभयो ।“पानी ल्याउन पोखरीसम्म जानकालागि आधा घण्टा लाग्छ”,उहाँले भन्नुभयो“मुहानमा गएपनि पालो पाउन मुस्किल छ ।”
त्यहाँ करिब डेढसय घरधुरी छन् । बागरको ठन्डीबजार, बनखल्यान,नयाँ गाउँ,गोठीगाउँलगायतका गाउँहरुमा खानेपानीको निकै समस्या हुने गरेको छ । ती दुईवटा मुहानको पानीलाई ट्याङ्कीमा जम्मा गरेर वितरण गर्न सकेमा समस्या नहुँने स्थानीय एमेशन चौधरीले बताउनुभयो ।“दुई वटा मुहानहरु छन्, ति मुहानहरुलाई एउटा ओभरहेड ट्याङ्की बनाएर जम्मा गरेमा सबै गाउँलाई सहजै पुग्थ्यो”,उहाँले भन्नुभयो“घण्टौं पालो कुर्नुपर्ने समेत अबस्था आउने थिएन ।”
गाउँमा एउटा डिपबोरिङ समेत खनिएको छ । त्यो डिपबोरिङ खनेपछि घर–घरमा धारा पनि जडान गरियो । केही समय त ति धाराहरुमा पनि पानी आयो । तर, अहिले ति धाराहरु सुख्खा छन् ।“ट्याङ्की नहुँदा पानी खेर जाने अबस्था भयो”, स्थानीय निमबहादुर खत्रीले भन्नुभयो“ त्यसले गर्दा पानीको सतह मोटर भन्दा मुनी गयो र धारामा पानी आउन छोड्यो ।”
उक्त खानेपानीको समस्या समाधानकालागि सबै तहका सरकारलाई गुहार गरेपनि सुनुवाई नभएको समेत उहाँको गुनासो छ । चुनाबको बेला पानीको माग पूरा गर्ने आस्वासन आएपनि त्यो समाधानकालागि पहल नहुँने गरेको समेत उहाँको गुनासो छ ।



लाइभदाङ । २२ असार २०८३, सोमबार १०:१६ बजे