विद्यार्थी पढने छाप्रो हावाले उडायो

तुलसीपुर, ७ वैशाख ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.३ स्थित मावि प्रतापकोटमा विद्यार्थीहरुले पठन–पाठन गर्ने टिनको छाप्रो हावाले उडाएको छ । गएको चैत ३० गते रातिको हावाहुरीले छिनको छाप्रो उडाउदा विद्यार्थीहरुको पठन–पठन कार्य प्रभाबित भएको छ। विद्यालयका प्रधानाध्यापक फस्टबहादुर राणाले बताउनुभयो । उहाँका अनुसार तीन वटा कक्षा टिनको छानामा सञ्चालनमा थिए । ति सबै हावाले उडाउँदा अहिले घाममा बसेर परीक्षा दिनुपर्ने अबस्था आएको उहाँको भनाई छ ।“तीन वटै कक्षाका टिनका छाना हावाले उडायो”,उहाँले भन्नुभयो“अहिले परीक्षा चलिरहेको छ, परीक्षा पनि प्रभाबति भएको छ । नियमित कक्षा सञ्चालन भएमा कसरी कक्षा सञ्चालन गर्ने भन्ने समस्या छ ।”

अहिले कक्षा ४,५,६ का विद्यार्थीहरु यसरी छाप्रोमा पढ्नु पर्ने अबस्था थियो ।तर, त्यही छाप्रो पनि उडाउदा समस्या भएको छ । त्यस्तै कक्षा ७ का विद्यार्थीहरु खुल्ला आकासमै पढ्नु पर्ने अबस्था थियो । २०२८ सालमा स्थापना भएको उक्त विद्यालयका भवन पूराना भएका थिए । पुराना भवनलाई भत्काएर नयाँ भवन निर्माण गर्ने कार्य अघि बढ्यो । तर, समयमै विद्यालय भवन निर्माण कार्य पूरा नभएपछि यस्तो विजोग भएको हो ।


त्यहाँ भएको भवन गएको कात्तिकमा भत्काएर नयाँ निर्माण थालिएको हो ।तर, अहिलेसम्म सन्तोषजनक तरिकाले काम अघि बढ्न सकेको छैन । छाया नेपालले संगसंगै निर्माण थालेको तुलसीपुर ७ कालाखोला स्थित भवनको काम अन्तिम चरणमा पुगेको छ । तर,अम्बासको भवन निर्माणको काम भने सुस्त गतिमा छ ।

विद्यालयका प्रअ राणाका अनुसार असारमसान्तसम्म सक्ने गरि सम्झौता भएपनि विद्यार्थीहरुको पठन–पाठनलाई मध्येनजरगरि त्यो भन्दा छिटै पूरा गर्ने गरि अगाडी बढ्ने आस्वासन दिईएको थियो । तर, त्यो आस्वासन अनुसार काम नहुँदा अहिले विद्यालयले छाप्रामा पढाउनु पर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । एक करोड ४३ लाख लागतमा ८ कोठाको उक्त भवन निर्माण हुन लागेको हो । कक्षा १० सम्म सञ्चालित उक्त विद्यालयमा अहिले २४५ विद्यार्थी छन् । त्यहाँ सोही वडाको थापापानी, बल्ले, टिमगैरा, टुनापानी, सितेधारा, सिस्नेरी, कल्ले, बल्ले, अम्बास, बोहरागाउँ, गहिरा नाउलालगाायतबाट आउने गर्छन् । अहिले विद्यालयमा १४ जना शिक्षक कर्मचारी कार्यरत रहेको प्रअ राणाले बताउनुभयो ।

हावाले इन्टरनेट पनि उडायो
त्यही दिनको हावाहुरीले विद्यालयको इन्टरनेट समेत उडाएको छ । त्यस्तै विद्युत सर्ट हुँदा ४ वटा कम्प्युटर समेत विग्रिएको प्रअ राणाले बताउनुभयो ।