मेट्रो कलेजलाई आंगिक बनाउने तयारी

तुलसीपुर, १३ कात्तिक ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राबिधिक शिक्षालय(मेट्रो कलेज) लाई लुम्बिनी बौद्ध विश्वविद्यालयको आंगिक कलेज बनाउने तयारी गरिएको छ ।

उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काका अनुसार त्यसकालागि कार्यविधि निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । कार्यविधि तयार भएमा नगरसभाबाट पास गर्ने र त्यसपछि आंगिक बनाउने विषयमा विश्वविद्यालयसंग थप छलफल गर्ने उनले बताए । “एकातर्फ प्राविधिक विषयहरू पढाई हुन्छन्, अर्कोतर्फ आंगिक कलेजका रुपमा शिक्षण हुन्छ”,उनले भने “यसकालागि परामर्स बैठक भइरहेको छ ।” यो विषयमा विश्वविद्यालय पनि सकारात्मक रहेको उनको भनाई छ ।


यदि आंगिक भएमा शिक्षक कर्मचारीहरूको भविष्य पनि उज्जवल हुने उनको भनाई थियो । अहिले कलेजमा सिटीइभिटि अन्तरगत इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, फरेष्ट्रि, फुड एण्ड डेरी, एग्रीकल्चर र फार्मेसी विषय पढाई रहेकाछन् । त्यस्तै विश्वविद्यालय अन्तर्गत विएएलएलबी, विएचटीएम, विविएका कक्षाहरू भइरहेका छन् । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो गौरवको रुपमा मेट्रो कलेजलाई लिएको छ । साभारः अग्रिम साप्ताहिक