बलेफी हाइड्रोपावरको आईपीओ खुल्यो, अरु ३ कम्पनीको खुल्दै

काठमाडौँ ,१६ चैत ।

बलेफी हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) बिक्रीका लागि बुधबारबाट आवेदन खुलेको छ । कम्पनीले कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ सर्वसाधारणमा निस्कासन गरेको हो । कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि बाँडफाँड गरिने छ ।

न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । चैत २१ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । आफ्नो बैंक खाता रहेको शाखा वा सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ ५७ पैसा छ । कम्पनीले निर्माण गर्ने जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत २१ करोड २६ लाख रुपैयाँ बराबर छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा ३६ मेगावाट क्षमताको अपर बलेफी ए आयोजना निर्माण गरिरहेको छ ।


अरु ३ कम्पनीको आईपीओ आउँदै

बलेफीपछि अरु ३ कम्पनीको आईपीओ खुल्ने भएको छ । ती तीन कम्पनीले धितोपत्र बोर्डबाट आईपीओ निस्कासनका लागि स्वीकृति पाइसकेका छन् । उपकार लघुवित्त, सीवाईसी नेपाल लघुवित्त र रिभर फल्स पावरले आईपीओ निस्कासनको स्वीकृति पाएका हुन् । उपकार लघुवित्तले २ लाख ३६ हजार २५० कित्ता, सीवाईसी नेपालले ३ लाख ९५ हजार ३३६ र रिभर फल्सले ३४ लाख ३० हजार कित्ता (स्थानीय र सर्वसाधारण) आईपीओ निस्कासन गर्नका लागि स्वीकृति पाएका हुन् । यी कम्पनीले दुई महिनाभित्र आइपीओ जारी गर्नेछन् ।