चोरखोला दुर्घटनाका घाइते भएका ठगेन्द्र केसीको मृत्यु

दाङ, ५ कात्तिक ।
रुकुम पश्चिमबाट दाङतर्फ आउँदै गरेको फोर्स गाडी दुर्घटनामा घाइते भएका ठगेन्द्र केसीको पनि आज बुधबार मृत्यु भएको छ । असोज १२ गते भएको उक्त दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने २ जना गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा परेर रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–५ की ६७ वर्षीया पवि केसी, २७ वर्षीय शसिधर केसी र २७ वर्षीय प्रकाश केसीको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा ३८ वर्षीय ठगेन्द्र केसी र उनकी बहिनी ३६ वर्षीया बिना केसी गम्भीर घाइते भएका थिए ।

घाइते बिनाको उपचारकै क्रममा असोज १६ गते विजया दशमीकै दिन मृत्यु भएको थियो । बिनाका दाजु ठगेन्द्रको पनि आज कार्तिक ५ गते भाइटिकाकै मुखमा निधन भएको छ । दुवै दाजुबहिनीको लखनउमा उपचार भइरहेको थियो ।

ठगेन्द्र र बिना घटनास्थलमै मृत्यु भएकी पबी केसीका छोराछोरी हुन् । त्यस्तै शशिधर देवरका छोरा हुन् भने प्रकाश नाति हुन् । एउटै घरपरिवारका ५ जनाको निधनले अहिले बाँफिकोट गाउँ शोकमग्न भएको छ ।


मृतक ठगेन्द्रको आजै बेलुका सानीभेरी नदीमा अन्त्येष्टि गरिएको छ । परिवारका एक छोरा ठगेन्द्रका दुई छोरा र श्रीमती छन् ।

यसैबीच अमेरिकामा बस्ने नेपालीहरूले मृतकका परिवारलाई राहत स्वरूप १२ लाख रुपैयाँभन्दा धेरै सङ्कलन गरेर हस्तान्तरण गरेका छन् । प्रति परिवार ३ लाख रुपैयाँका दरले उक्त रकम वितरण गरेका हुन् ।

रुकुम पश्चिमको बाफिकोटबाट दाङ घोराही तर्फ जाँदै गरेको लु २ ख ६५०२ नम्बरको यात्रुबाहक फोर्स गाडी गत असोज १२ गते कपुरकोट गाउँपालिका वडा नम्बर-३ चोरखोला नजिक दुर्घटना भएको थियो । गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।