
दाङ, ३० जेठ ।
सामाजिक सेवाका विविध गतिविधिमार्फत समुदायमा सकारात्मक योगदान पु¥याउँदै आएको लायन्स क्लब नारायणपुरले घोराही उपमहानगरपालिका–९ स्थित लरेना बासुदेव मन्दिर परिसरमा भक्तजन तथा पर्यटकको सुविधाका लागि प्रतिक्षालय निर्माण गरेको छ । मन्दिर परिसरमा निर्माण गरिएको उक्त प्रतिक्षालयको लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनका गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठले एक समारोहका बीच उद्घाटन गर्नुभएको हो ।
लायन्स क्लब नारायणपुरका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, स्थानीय जनप्रतिनिधि, धार्मिक क्षेत्रका अगुवा तथा लायन्सकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो । लरेना बासुदेव मन्दिर परिसर धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा परिचित छ । यहाँ दैनिक रूपमा स्थानीय भक्तजनका साथै विभिन्न स्थानबाट आउने दर्शनार्थीहरूको आवागमन हुने गरेको छ । मन्दिर नजिकै रहेको पिकनिक स्थलमा समेत मानिसहरूको चहलपहल रहने भएकाले बस्ने तथा विश्राम गर्ने उपयुक्त स्थानको आवश्यकता महसुस गरेर प्रतिक्षालय निर्माण गरिएको अध्यष पोखरेलले बताउनुभयो । उहाँका अनुसार लायन्स क्लब नारायणपुरले करिब ६० हजार रुपैयाँ खर्च गरेर प्रतिक्षालय निर्माण गरेको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै गभर्नर श्रेष्ठले लायन्स क्लबले सञ्चालन गर्ने सामाजिक सेवामूलक कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पारिरहेको बताउनुभयो । उहाँले विश्वभर रहेका विभिन्न सामाजिक संस्थाहरूमध्ये लायन्स क्लब सबैभन्दा ठूलो सेवामूलक संस्था भएको उल्लेख गर्दै मानव सेवाका कार्यहरूलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
गभर्नर श्रेष्ठले चालु वर्षमा डिष्ट्रिक्ट ३२५ एन अन्तर्गत सञ्चालन गरिएका सामाजिक, शैक्षिक, स्वास्थ्य तथा वातावरण संरक्षणसँग सम्बन्धित कार्यक्रमहरूको जानकारी गराउँदै समुदायको आवश्यकता अनुसार सेवा विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले उत्कृष्ट कार्यसम्पादन गर्ने क्लब अध्यक्ष, जोन चेयरपर्सन तथा उत्कृष्ट क्लबहरूलाई सम्मानसमेत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका–९ का वडा अध्यक्ष चैतुकुमार चौधरीले लरेना क्षेत्रको विकासका लागि लायन्स क्लबले गरेको सहयोग महत्वपूर्ण भएको बताउनुभयो । उहाँले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको लरेना र त्रिवेणी धाम क्षेत्रको समुचित विकास गर्न सके नेपालका विभिन्न जिल्लासँगै भारतबाट समेत ठूलो संख्यामा धार्मिक पर्यटक भित्र्याउन सकिने धारणा व्यक्त गर्नुभयो ।
उहाँका अनुसार दाङका दुई उपमहानगरपालिका क्षेत्रको बीच भागमा पर्ने लरेना र त्रिवेणी धाम धार्मिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावना बोकेका क्षेत्र हुन् । यी क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सके धारपानी, चौघेरा तथा सरयुगंगाको शिर लगायत आसपासका धार्मिक तथा प्राकृतिक सम्पदाको समेत प्रवद्र्धन हुने र समग्र क्षेत्रको आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले लरेना, त्रिवेणी धाम तथा बराह क्षेत्रको संरक्षण, विकास र प्रचारप्रसारका लागि सरकारी तथा गैरसरकारी निकायहरूबीच सहकार्य आवश्यक रहेको बताएका थिए । उनीहरूले धार्मिक सम्पदाको उचित व्यवस्थापन र पूर्वाधार विकासमार्फत दाङलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सकिने धारणा राखेका थिए ।
कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ एनका सिनियर एक्जुकेटिभ चिफ लव अधिकारी, कृष्णप्रसाद श्रेष्ठ, लरेना मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र दाहाल, एरिया चिफ मधुसूदन वैद्य, जोन चेयरपर्सन शरद अधिकारी, क्लबका पूर्व अध्यक्षहरू अभियान बस्नेत र अनिल बस्नेत, प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने, माध्यमिक विद्यालय खैराकी सहायक प्रधानाध्यापक श्यामा रावत थापा तथा संयुक्त क्लबका अध्यक्ष मोहन आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वक्ताहरूले लरेना क्षेत्रसम्म पुग्न सहज पहुँचका लागि सडक पूर्वाधारको थप स्तरोन्नति आवश्यक रहेको उल्लेख गर्दै घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत खैराबाट दक्षिणतर्फ पर्ने यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताए । लायन्स क्लब नारायणपुरले विगतदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक सेवाका विविध कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य क्लबका उपाध्यक्ष विनोदकुमार डाँगीले राख्नुभएको थियो भने सञ्चालन सचिव विष्णुबहादुर डाँगीले गर्नुभएको थियो ।
देउखुरीका दुई क्लवलाई चार्टर्ड पेपर हस्तान्तरण
यसैबीच सोही अवसरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनका गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठले देउखुरी क्षेत्रमा स्थापना भएका दुई नयाँ लायन्स क्लबलाई चार्टर्ड पेपर हस्तान्तरण गर्नुभएको छ । लायन्स इन्टरनेशनलबाट प्राप्त चार्टर्ड सर्टिफिकेट, पिन तथा अन्य आधिकारिक सामग्री नयाँ क्लबहरूलाई प्रदान गरिएको हो ।
लायन्स क्लब राप्ती क्यापिटलका अध्यक्ष होमप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न चार्टर्ड हस्तान्तरण कार्यक्रममा लायन्स क्लब लमहीका अध्यक्ष हल्लुप्रसाद चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सिनियर एक्जुकेटिभ चिफ लव अधिकारी, एरिया चिफ मधुसूदन वैद्य तथा जोन चेयरपर्सन सहाना श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्दै नयाँ क्लबहरूको सफल कार्यकालको कामना गर्नुभएको थियो ।
नयाँ दुई क्लब थपिएसँगै देउखुरी क्षेत्रमा सक्रिय लायन्स क्लबहरूको संख्या पाँच पुगेको छ । सामाजिक सेवा, मानवीय सहयोग तथा समुदाय विकासका क्षेत्रमा लायन्स अभियानलाई थप विस्तार गर्ने उद्देश्यका साथ नयाँ क्लबहरू स्थापना गरिएको बताइएको छ । कार्यक्रमको सञ्चालन उमाकान्त चौधरीले गर्नुभएको थियो ।



लाइभदाङ । ३० जेष्ठ २०८३, शनिबार २१:१० बजे