दाङमा बालुवामा पुरिएर एक जनाको मृत्यु

दाङ ,३० जेठ ।
कालाकाटे – सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा गढवा गाउँपालिका २ का ४५ वर्षीय लालमणि यादवको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बज्रगुरु कान्छाराम जेभी कन्ट्रक्सन प्रालिले सञ्चालन गरेको अलकत्रा ९बिटुमिन० बनाउने प्लान्टमा यादव काम गरिरहेका बेला जेसीबी चालकले त्यहाँ मानिस रहेको थाहा नपाई बालुवा खन्याएका थिए । सोही क्रममा यादव बालुवाले पुरिएर गम्भीर घाइते भएका थिए ।


इलाका प्रहरी कार्यालय गढवाको टोलीले तत्काल उद्धार गरी उपचारका लागि लमही अस्पताल पुर्‍याएको थियो । अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनापछि जेसीबी र चालक अनिल कुमार थारुलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।