
मसुरिया,२९ जेठ ।
दाङको राप्ती गाउँपालिकाले प्रति एकाइ क्षेत्रफलमा बढी गहुँ उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरेको छ।
आर्थिक वर्ष २०८२र०८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत प्रति एकाइ क्षेत्रफलमा बढी गहुँ उत्पादन गर्ने कृषकलाई छनोट गरी शुक्रबार आयोजित कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी–२०८३ को अवसरमा पुरस्कृत गरिएको हो।
पुरस्कृत हुने कृषकमध्ये वडा नं. ९ की लक्ष्मी उलुङ्गे प्रथम, वडा नं। ६ का धनराज चौधरी द्वितीय तथा वडा नं. ६ कै सुकदेव चौधरी तृतीय हुनुभएको कृषि शाखा प्रमुख बरसाति गडरीयाले जानकारी दिनुभयो।
प्रथम, द्वितीय र तृतीय हुने कृषकलाई क्रमशः १२ हजार, १० हजार र ८ हजार रुपैयाँ नगदसहित मकै रोप्ने मेसिन, कोदालो तथा सम्मानपत्र प्रदान गरिएको थियो। साथै सान्त्वना स्थान हासिल गर्ने अन्य चार जना कृषकलाई पनि मकै रोप्ने मेसिन, कोदालो र सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले कृषि उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि मेहनत गर्ने कृषकहरूलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले आधुनिक कृषि प्रविधिको प्रयोग, उत्पादन लागत न्यूनीकरण तथा उत्पादकत्व वृद्धि गरी व्यावसायिक खेतीतर्फ आकर्षित हुन कृषकलाई आग्रह गर्नुभयो। कृषकको सम्मानले अन्य कृषकलाई समेत उत्पादन बढाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले कृषि क्षेत्रलाई गाउँपालिकाको समृद्धिको आधारका रूपमा अघि बढाइएको बताउँदै उत्पादनमा उत्कृष्ट नतिजा हासिल गर्ने कृषकलाई सम्मान गर्ने कार्यले प्रतिस्पर्धात्मक र व्यावसायिक कृषि विकासमा टेवा पुग्ने बताउनुभयो। उहाँले कृषि उत्पादन वृद्धि, नवीन प्रविधिको विस्तार तथा कृषकको आयआर्जन बढाउने उद्देश्यका साथ गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। गाउँपालिकाका अनुसार कृषकलाई प्रोत्साहन गर्दै कृषि उत्पादनमा वृद्धि ल्याउने तथा आधुनिक कृषि अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो।



लाइभदाङ । २९ जेष्ठ २०८३, शुक्रबार २२:२४ बजे