
दाङ, ३० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनीको नयाँ नेतृत्वका लागि मतदान सकिएलगत्तै मतगणना सुरु भएको छ । प्रदेश सभापति पदका लागि ६ जनाले उम्मेदारी दर्ता गराएपछि शनिबार दिउसोबाट निर्वाचनको विधिबाट नेतृत्व छान्ने प्रकृया सुरु गरेको थियो ।
४२ सदस्यीय कार्यसमितिका लागि १ सयभन्दा बढीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । लुम्बिनीका १२ जिल्लाबाट ८ सय ४३ प्रदेश प्रतिनिधिले पार्टीको नयाँ नेतृत्वका लागि मतदान गरेका हुन् । सहभागी प्रतिनिधिहरुका अनुसार मतदान अलिक ढिला सुरु भएकाले रातीसम्म सकिएको र त्यसलगत्तै गणना सुरु भएको जनाइएको छ ।
प्रदेश सभापति पदका लागि यसअघिका उपसभापति रुपन्देहीका शालिकराम घिमिरे, प्रदेश प्रशिक्षण विभाग प्रमुख रहेका बाँकेका डा. राजकुमार सुवेदी, केन्द्रीय मानव अधिकार विभागमा रहेका रुपन्देहीका गणेश पौडेल, प्रतिनिधि सभा सदस्य रहेकी रुपन्देहीकी मञ्जु भुसाल, केन्द्रीय सङ्गठन विभागमा रहेका रुपन्देहीका मधु अर्याल र केन्द्रीय सङ्गठन विभाग सदस्य रहेका रुपन्देहीका गोपाल घिमिरेले प्रतिस्पर्धामा छन् । रातभर गणना हुने भएकाले राती नै घोषणा हुने निर्वाचन समितिले जनाएको छ ।



लाइभदाङ । ३० जेष्ठ २०८३, शनिबार २२:५१ बजे