सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो

दाङ
२० साउन / सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिआ) को बिक्री आजदेखि खुल्ला भएको छ। कम्पनीको आइपिओमा २४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले अंकित मूल्य प्रतिकित्ता १ सयका दरले कुल ६० लाख कित्ता सेयर सर्वसाधारण समूहको निष्कासन गर्न लागेको हो।

जसमध्ये ३ लाख कित्ता कर्मचारीलाई र ३ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन हुने भएको हो । कम्पनीको आइपिओ ५ लाख ४० हजारले १० कित्ताका दरले पाउने छन् ।

आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ। न्यूनतम १० र अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी पछिबाट खुलेको जीवन बीमा कम्पनी हो। यसअघि प्रभु, ज्योति, रिलायन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गरेका छन् । अब आइएमई, रिलायबल, सिटिजन, सन नेपाल र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ।

कस्तो छ कम्पनी?
संस्थालाई केयर रेटिङ नेपालले बीबीबी माइनस रेटिङ प्रदान गरेको छ। केयर कम्पनीलाई उत्कृष्टताका आधारमा एएएदेखि डीसम्मको रेटिङ प्रदान गर्दछ । जसमा एएएले सबैभन्दा राम्रो र डीले सबैभन्दा कमजोर स्तर जनाउँछ। सानिमा लाइफले पाएको रेटिङ औसतमा मध्यम राम्रो देखिन्छ ।


कम्पनीको देशका विभिन्न ठाउँमा ११८ वटा शाखा कार्यालय संचालनमा छन् । २०७४ मंसिरदेखि कम्पनी संचालनमा आएको हो। कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ४० करोड रहेकोमा आइपिओ निष्कासनपश्चात २ अर्ब पुग्नेछ।

चैत मसान्तसम्म २० करोड ६३ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित छ। चैत मसान्तसम्म १ अर्ब ४४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। चैत मसान्तसम्म कम्पनीले ९ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
२०७७÷७८ मा कम्पनीको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ७४ पैसा र प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७३ पैसा रहने अनुमान छ ।
लगत्तै मानुषी लघुवित्तको आइपिओ आउँदै

सानिमा लाइफ इन्स्योरेन्सपछि मानुषी लघुवित्तको आइपिओ साउन २७ देखि खुल्ने भएको छ। कम्पनीको आइपिओमा ३१ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहको कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ जारी गर्दैछ।
जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ।

यसमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।आर्थिक वर्ष ०७७÷७८ सम्म कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९५४ पैसा छ। केयर रेटिङ नेपालले कम्पनीको आइपिओलाई बी प्लस रेटिङ प्रदान गरेको छ।