लुम्बिनी : ठूलो दलका हिसाबले मुख्यमन्त्रीमा फेरि एमालेकै दाबी

दाङ, ११ बैशाख ।
लुम्बिनीमा एमालेले ठूलो दलका हिसाबले फेरि सरकारमा दाबी गर्ने भएको छ।

एमालेका सांसद तथा मन्त्री परिषदका प्रबक्ता चेतनारायण आचार्यका अनुसार ठूलो दलका हिसाबले दावी पेश गर्ने तयारी छ। त्यसकालागि प्रदेश प्रमुख समक्ष सोमबार साँझ ६ वजे दाबी पेस गर्ने तयारी छ।

विश्वासको मत नपाएपछि मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् बैठक बोलाएर ठूलो दलका हिसाबले एमाले संसदीय दल नेता गिरीलाई नै मुख्यमन्त्री नियुक्ति गर्नका लागि सुझाब दिने निणर्य भएको समेत उनले बताए।

‘विश्वासको मत नपाएपछि मन्त्रिपरिषद् बैठक बस्यो’,उनले भने‘अहिलेको सरकार १६८ (२) अन्तर्गत थियो, तर विश्वासको मत नपाएपछि यो धारा निष्क्रिय भइसकेको छ। अब १६८ (३) सक्रिय हुन्छ, सोही अनुसार सरकारको नेतृत्व तोकेर सल्लाह दिने निणर्य गरेका छौँ।’


सोमबार मुख्यमन्त्री गिरीले विश्वासको मत मागेका थिए। तर, ८७ सांसद रहेको संसदमा गिरीले एमालेका २९ र राप्रपाका ४ मत गरी ३३ मत मात्रै प्राप्त गरेका थिए । विपक्षमा ५३ मत परेको थियो।

ती ५३ सांसदले यसअघि नै कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री तोक्नका लागि प्रदेश प्रमुख समक्ष दाबी पेस गरिसकेका छन्।

माओवादी केन्द्रलगायतका दलले १२ चैतमा समर्थन फिता लिएपछि उनी अल्पमतमा परेका थिए। लगतै कांग्रेसका २७, माओवादीका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ४, जसपा,लोसपा र जनमत पार्टीका ३/३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद तथा एक जना स्वतन्त्र सांसदले प्रतिपक्षमा बसेका थिए।