धारापानी मेला हेर्न जाने क्रममा मोटरसाईकलको ठक्करबाट एकको मृत्यु

तुलसीपुर
१७फागुन / दाङ घोराहीको धारपानी स्थित शिवरात्री मेलामा जान लागेका एक ब्यक्तीलाई मोटरसाईकलले ठक्कर दिदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालका अनुसार मंगलबार अपरान्ह साढे ५ बजेतिर मेला जाने क्रममा मोटरसाइकलले ठक्कर दिदा गम्भीर घाइते भएका घोराही उपमहानगरपालिका वडा नं. १७ थारुगल्ली निवासी १८ बर्षीय अजय चौधरीको मृत्यु भएको हो ।

अजय मेला तर्फ जानकालागि अटो चढ्दै गर्दा मेला तर्फबाट फर्किदै गरेको मोटरसाईकलले ठक्कर दिएर गम्भीर घाईते बनाएको थियो । गम्भीर घाइते चौधरीलाई उपचारकालागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।


घोराही–धारापानी सडक अन्तर्गत घोराही १७ कर्जाहीमा मोटरसाइकलले ठक्कर दिएको हो । मोटरसाइकलको पहिचान हुन सकेको छैन । संकास्पद दुईवटा मोटरसाईकललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । अटोलाई पनि नियन्त्रणमा लिइएको छ ।