
तुलसीपुर, १३ असार ।
तुलसीपुरस्थित डिभाइन टेम्पल एकेडेमीले आफ्नो परिसरमा निर्माण गरेको नयाँ फुट्सल कोर्ट शनिबारदेखि सञ्चालनमा ल्याएको छ। नेसनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष प्रकाश कुमार शर्मा लगायत शिक्षा र खेलकुद क्षेत्रका प्रतिनिधिहरूले एक समारोहका बीच यो आधुनिक खेल मैदानको उद्घाटन गरेका हुन्। विद्यालय तहदेखि नै खेलकुदको वातावरण बनाउन र विद्यार्थीको प्रतिभा पहिचान गर्न यो पूर्वाधारले सघाउने अपेक्षा गरिएको छ।
नयाँ कोर्ट सञ्चालनमा आएकै अवसर पारेर नेसनल प्याब्सन दाङको आयोजनामा जिल्ला स्तरीय विद्यालय फुट्सल प्रतियोगिता समेत गराइएको थियो। प्याब्सनसँग आबद्ध विद्यालयहरू बीच भएको यो प्रतिस्पर्धामा आयोजक डिभाइन टेम्पल एकेडेमी नै प्रथम हुन सफल भयो। त्यसैगरी लक्ष्य एकेडेमीले दोस्रो र पारिजात स्कुलले तेस्रो स्थान हासिल गरे। प्रतियोगिताभर उत्कृष्ट खेल प्रस्तुत गरेका लक्ष्य एकेडेमीका प्रदिप परियार बेस्ट प्लेयरु र उत्कृष्ट बचाउ गरेका डिभाइनका सुरज डाँगी बेस्ट किप्परु चुनिए। खेलहरू एन्फा रेफ्री मोहन गौतम र रेफ्री विशाल ओलीले सञ्चालन गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि प्रकाश कुमार शर्मा र विशिष्ट अतिथि डिल्ली बहादुर डाँगीले पढाइसँगै खेलकुदले विद्यार्थीको शारीरिक र मानसिक विकासमा सघाउने भन्दै निजी क्षेत्रले खेलकुदको पूर्वाधारमा लगानी बढाउनु सकारात्मक भएको बताए। डिभाइन एजुकेसन फाउन्डेसनका सीइओ भोजराज न्यौपानेले संस्थाले विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको र आगामी दिनमा पनि यस्ता सुविधा थप्दै लैजाने जानकारी दिए।
समारोहमा नेसनल प्याब्सन दाङका सचिव हरिप्रसाद भण्डारी, खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियार र पत्रकार दीपक बोहराले विद्यालय स्तरका यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न मद्दत पुग्ने धारणा राखेका थिए। डिभाइन टेम्पल एकेडेमीका भाइस प्रिन्सिपल महेश लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक पूर्ण केसी मुस्कानु ले गरेका थिए।



लाइभदाङ । १३ असार २०८३, शनिबार २१:३६ बजे