छात्रा बलात्कार गर्ने शिक्षकलाई बचाउ नगर्न माओवादी शान्तिनगरको चेतावनी

दाङ,२७ चैत । दाङ शान्तिनगर गाउँपालिका वडा नं. ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी १६ बर्षिया छात्रामाथि करणी गर्ने शिक्षकमाथि बचाऊ गरेको माओवादी केन्द्र शान्तिनगरको ठहर छ ।

पार्टीले आईतबार गाउँपालिकामा ज्ञापन पत्र बुझाउँदै दोषीलाई बचाउ नगर्न तथा कानुनी कठघरामा ल्याउन माग गर्दै ज्ञापन पत्र समेत बुझाएको छ । पार्टी अध्यक्ष नेपवहादुर रोका र सचिब पिमलाल वलीले हस्ताक्षर गरेको ज्ञापनपत्र बुझाएको हो ।

एक हप्ता अघि गएको सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले करणी गरेको पीडितले जाहेरी दिएका छन् । तर, पौडेललाई अझै पनि पक्राउ गरिएको छैन । त्यसैले पनि माओवादी केन्द्रले विद्यालय प्रशासन, पालिका, शिक्षा शाखा, इलाका प्रहरी कार्यलय खिलतपुर, इप्रका तुलसीपुरको कदमप्रति शंका ब्यक्त गरेको छ ।

यदि तत्काल दोषीलाई कानुनी दायरामा नल्याए चरनबद्ध आन्दोलन गर्ने समेत माओवादी केन्द्र शान्तिनगर सचिब पिमलाल वलीले बताए । आईतबार ज्ञापन पत्र मात्रै बुझाएको र केही दिनमा पालिकाको शिक्षा शाखा र पालिकालाई नै बन्द गर्ने समेत उनले बताए । पौडेल हाल फारर रहेको प्रहरीले बताएको छ । उनी ३ महिनासम्म पनि विद्यालयको सम्पर्कमा नआए उनको जागिर पनि जाने कानुनी ब्यबस्था छ ।


पौडेलले होस्टेलमा बस्ने विद्यार्थीलाई हेरचाह गर्दै आएका थिए । उनी सोही विद्यालयका प्राबि शिक्षक हुन् । उनलाई पक्राउ नगरेपछि चौतर्फी विरोध पनि हुने गरेको छ । सोही विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पनि विद्यालयमा पुगेर विरोध जनाएका छन् ।