
तुल बहादुर कवँर मगर
मसुरिया, ९ मंसिर ।
दाङको राप्ती गाउँपालिकामा विश्व प्रतिजैविक प्रतिरोध ९एएमआर० सचेतना सप्ताह–२०२६ को अवसरमा स्वास्थ्यकर्मी तथा सरोकारवालाबीच प्रतिजैविक प्रतिरोधसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
‘एक स्वास्थ्य, एक अभियान स् प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने नारासहित गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सोमबार गाउँपालिकाको सभा हल मसुरियामा कार्यक्रम आयोजना गरिएको हो ।
प्रतिजैविक औषधिको अनियन्त्रित तथा जथाभावी प्रयोगका कारण जीवाणुमा औषधिविरुद्ध प्रतिरोध क्षमता विकास हुँदै जाने समस्या, त्यसले मानव स्वास्थ्यमा पार्ने असर तथा यसको रोकथामका उपायबारे स्वास्थ्यकर्मी र सरोकारवालालाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले प्रतिजैविक प्रतिरोध न्यूनीकरणका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्यलाई एकीकृत रूपमा हेर्नुपर्ने बताउनुभयो ।
उहाँले प्रतिजैविक औषधिको जिम्मेवार प्रयोग र यसको दुरुपयोग रोक्न स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पोषणराज शर्माले प्रतिजैविक औषधिको जथाभावी प्रयोगले मानव स्वास्थ्यमा गम्भीर चुनौती थप्दै गएको बताउनुभयो ।
उहाँले सामान्य रुघाखोकी लाग्दैमा एन्टिबायोटिक सेवन गर्ने, चिकित्सकको सल्लाहबिना औषधि किनेर खाने तथा सञ्चो भएपछि औषधिको निर्धारित मात्रा पूरा नगर्ने बानीले भविष्यमा सामान्य संक्रमणको उपचारसमेत जटिल बन्न सक्ने बताउनुभयो ।
उहाँले एन्टिबायोटिक औषधि चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहअनुसार मात्र सेवन गर्नुपर्ने, सामान्य रुघाखोकीलगायत भाइरसबाट हुने रोगमा एन्टिबायोटिक प्रयोग गर्न नहुने र सञ्चो महसुस भए पनि चिकित्सकले निर्धारण गरेको मात्रा तथा उपचार अवधि पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, पशु चिकित्सक प्रदीप चौधरीले पशुपन्छीमा समेत चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक प्रयोग गर्न नहुने बताउनुभयो ।
कृषि तथा पशुपन्छी उत्पादन बढाउने उद्देश्यले प्रतिजैविक औषधिको जथाभावी प्रयोग गर्ने प्रवृत्ति रोक्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण राउतलगायतले प्रतिजैविक प्रतिरोध न्यूनीकरणका लागि स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, सरोकारवाला निकाय र समुदाय सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूले संक्रमणको उचित निदान तथा परामर्शपछि मात्र प्रतिजैविक औषधि सिफारिस, बिक्री तथा प्रयोग गर्ने, भाइरल संक्रमण वा एन्टिबायोटिक प्रभावकारी नहुने अवस्थामा यसको प्रयोग तथा सिफारिस नगर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यसैगरी, सही औषधि, सही मात्रा, सही प्रयोग विधि र उपचार अवधि पालना गर्ने, निर्धारित उपचार अवधि पूरा गर्न परामर्श दिने तथा प्रतिजैविक औषधिको जिम्मेवार प्रयोग, प्रतिजैविक प्रतिरोध र मानव, पशु तथा वातावरणीय स्वास्थ्यबीचको अन्तरसम्बन्धबारे समुदायमा सचेतना अभिवृद्धि गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।



लाइभदाङ । १० मंसिर २०८३, बुधबार १२:०४ बजे