
देउखुरी,१० चैत ।
लमहीमा उपभोगका लागि अयोग्य, चिलिसो र झुम्रो लागेको चामल ठूलो परिमाणमा बरामद गरिएको छ । बजारमा बिक्रीका लागि तयारी अवस्थामा रहेको भनेर लमही नगरपालिकालाई प्राप्त सूचनाको आधारमा त्यहाँ पुगेको अनुगमन टोलीले नियन्त्रणमा लिएको हो ।
सोना मन्सुली जातको चामल, चार महिना म्याद गुज्रिएको र प्रती बोरा २ हजार रुपैयाँ मुल्य लेखिएको छ भने यो चामलको बजार मूल्य २ लाख २२ हजार बराबर रहेको छ ।
लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखा, वडा प्रहरी कार्यालय लमही र देउखुरी उद्योग वाणिज्य संघ लमहीको संयुक्त टोलीले अनुगमनका क्रममा उक्त चामल फेला पारेको हो । टोलीले २५ किलोका दरले प्याक गरिएको कुल १ सय ११ बोरा चामल बरामद गरेको जनाएको छ ।
लमही नगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख शिवराज न्यौपानेका अनुसार चामलमा पुनः पोलिस गरेर बजारमा बिक्री वितरण गर्ने तयारी भइरहेका बेला अनुगमन टोलीले नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक अवलोकनमा चामल घुन लागेको तथा स्वास्थ्यका लागि हानिकारक देखिएको उहाँले जानकारी दिनु भयो । बरामद गरिएको चामल लमही नगरपालिका ५ स्थित सनलाइट चोकमा रहेको आरके सप्लायर्सको भएको पुष्टि भएको छ ।
यसैबीच दाङका निमित्त प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले घटनाबारे थप अनुसन्धान गरिने बताउँदै अखाद्य चामल बिक्री वितरणमा संलग्नलाई कानूनी दायरामा ल्याइने स्पष्ट पार्नु भयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले म्याद गुज्रिएको तथा अखाद्य चामल परीक्षण नगरी सिधै नष्ट गरिने जानकारी दिनु भयो ।
स्थानीय उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै लमही नगरपालिकाले यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।



लाइभदाङ । १० चैत्र २०८२, मंगलवार २१:१० बजे