कांग्रेस दाङ-१ को पद हस्तान्तरण, कांग्रेसका उपलब्धि जनतामाझ पुर्‍याउन सहमहामन्त्री चौधरीको आग्रह

प्रिया स्मृती गजमेर
देउखुरी, ०३ मङ्सिर ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ को पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । निवर्तमान क्षेत्रीय सभापति भेषराज पाण्डेले नवनिर्वाचित क्षेत्रीय सभापति दिनेश गिरीलाई कार्यालयको निर्णय पुस्तिका हस्तान्तरण गर्दै औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुभएको हो ।

पद हस्तान्तरण तथा भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीका नेता तथा कार्यकर्ताहरू थप सक्रिय र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले स्पष्ट दृष्टिकोण र भिजन नभएका व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत अफवाह फैलाएर देश सञ्चालन गरिरहेको आरोप लगाउनुभयो ।

चौधरीले विपक्षी राजनीतिक शक्तिहरूले सामाजिक सञ्जाललाई आफ्नो मुख्य राजनीतिक हतियार बनाइरहेको भए पनि कांग्रेसका कार्यकर्ताहरू भने त्यसको प्रतिवाद गर्न नसकी टुलुटुलु हेरेर बसिरहेको टिप्पणी गर्नुभयो । उहाँले सामाजिक सञ्जालमा फैलाइने गलत सूचना र अफवाहको तथ्यपरक ढंगले खण्डन गर्दै जनतामाझ पार्टीका वास्तविक धारणा र उपलब्धि पुर्‍याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँका अनुसार नेपाली कांग्रेसले विगतमा विभिन्न विकास निर्माणका महत्वपूर्ण काम गरे पनि त्यसको प्रभावकारी प्रचारप्रसार गर्न नसक्दा जनतामाझ पार्टीको योगदान अपेक्षित रूपमा स्थापित हुन सकेको छैन । विकासका काम गरेर मात्र नहुने भन्दै ती काम कसको नेतृत्व र पहलमा सम्पन्न भएका हुन् भन्ने कुरा जनतालाई बुझाउन पनि आवश्यक रहेको उहाँको भनाइ थियो ।

सहमहामन्त्री चौधरीले विगत १० वर्षको अवधिमा राप्ती नदीमा निर्माण भएका पुलहरू, बड्का पथ तथा प्रगन्ना सिँचाइजस्ता ठूला आयोजना नेपाली कांग्रेसकै नेतृत्व र पहलमा अघि बढेका महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो । यस्ता विकास आयोजनाले जनताको जीवनस्तरमा पारेको सकारात्मक प्रभावबारे गाउँगाउँमा पुगेर जानकारी गराउन उहाँले नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कांग्रेसले गरेका कामको प्रचार गर्न नसक्दा विपक्षीहरूले त्यसको राजनीतिक लाभ लिइरहेको उल्लेख गर्दै चौधरीले अब कार्यकर्ताहरू संगठन निर्माणसँगै पार्टीका उपलब्धि जनतासम्म पुर्‍याउने अभियानमा लाग्नुपर्ने बताउनुभयो । सामाजिक सञ्जालमा सक्रियता बढाउने, जनताका सवालमा आवाज उठाउने र पार्टीको विचारलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने काममा कार्यकर्ताहरू अग्रसर हुनुपर्ने उहाँको धारणा थियो ।

यसैगरी, निवर्तमान क्षेत्रीय सभापति भेषराज पाण्डेले आफूले ११ वर्षसम्म क्षेत्रीय नेतृत्वमा रहेर नेपाली कांग्रेसलाई संगठित र बलियो बनाउने प्रयास गरेको बताउनुभयो । आफ्नो कार्यकालमा पार्टी संगठन विस्तार, नेता तथा कार्यकर्ताबीच समन्वय र संगठनलाई चलायमान बनाउने काममा निरन्तर लागिपरेको उहाँको भनाइ थियो ।


पाण्डेले नेतृत्वमा रहेर काम गर्ने क्रममा विभिन्न चुनौती र परिस्थितिको सामना गर्नुपरे पनि पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यका साथ आफूले निरन्तर प्रयास गरेको उल्लेख गर्नुभयो । अब नेतृत्व नयाँ पुस्ता तथा नवनिर्वाचित सभापतिको हातमा पुगेको भन्दै उहाँले नयाँ नेतृत्वलाई सफल बनाउन सबै नेता तथा कार्यकर्ताले सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले नवनिर्वाचित क्षेत्रीय सभापति दिनेश गिरीसहित सम्पूर्ण पदाधिकारीहरूलाई पार्टीलाई अझ सशक्त र व्यवस्थित बनाउने जिम्मेवारी आएको उल्लेख गर्दै आगामी दिनमा संगठन विस्तार, कार्यकर्ताको उचित व्यवस्थापन र जनतासँगको सम्बन्धलाई बलियो बनाउन विशेष ध्यान दिन आग्रह गर्नुभयो । नेतृत्व परिवर्तन हुँदैमा पार्टीभित्रको एकता कमजोर हुन नहुने भन्दै सबैलाई साझा उद्देश्यका साथ अगाडि बढ्न उहाँले आह्वान गर्नुभयो ।

कार्यक्रममा नवनिर्वाचित क्षेत्रीय सभापति दिनेश गिरीले नेपाली कांग्रेस क्षेत्र नम्बर १ को नेतृत्व आफ्नो काँधमा आएको जिम्मेवारी भएको बताउनुभयो । उहाँले देश, जनता र पार्टीको हितलाई केन्द्रमा राखेर आफू अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गिरीले नेतृत्व प्राप्त गर्नु व्यक्तिगत उपलब्धिभन्दा पनि पार्टी र संगठनप्रतिको जिम्मेवारी भएको उल्लेख गर्दै सबैलाई समेटेर अघि बढ्ने बताउनुभयो । विगतमा पार्टीभित्र नेतृत्वका लागि प्रतिस्पर्धा भए पनि अब त्यसलाई निरन्तरता दिनुभन्दा विगतका असमझदारी र मनमुटाव बिर्सेर एकताबद्ध हुनु आजको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, विगतमा सँगै रहेर प्रतिस्पर्धा गर्दा को कहाँ छुट्यो वा कसले कसलाई समर्थन गर्‍यो भन्ने विषयलाई लिएर अब मनमुटाव राख्नु उचित हुँदैन । पार्टीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ताको साथ र सहयोग आवश्यक छ । त्यसैले विगतका सबै कुरालाई बिर्सेर साझा लक्ष्यका साथ अगाडि बढ्नुपर्छ ।

नवनिर्वाचित सभापति गिरीले पार्टीभित्र सबैको भावना र विचारलाई सम्मान गर्दै संगठनलाई थप चलायमान बनाउने प्रतिबद्धता जनाउनुभयो । कांग्रेसलाई जनतासँग जोड्ने, कार्यकर्ताको मनोबल उच्च बनाउने र आगामी दिनमा पार्टीको प्रभाव विस्तार गर्ने आफ्नो प्राथमिकता रहने उहाँले बताउनुभयो । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति दिनेश गिरीको सभापतित्व एवं पार्टीका सहमहामन्त्री योगेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव गोविन्द कुमार वलीले गर्नुभएको थियो ।