राप्तीमा गाउँ शिक्षा योजना अद्यावधिकका लागि प्रधानाध्यापकसँग सुझाव संकलन

मसुरिया, ३ मंसिर ।
दाङको राप्ती गाउँपालिकाले गाउँ शिक्षा योजना अद्यावधिक गर्ने तयारीस्वरूप सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग सुझाव संकलन तथा छलफल गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहको अध्यक्षतामा बिहीबार आयोजित कार्यक्रममा गाउँपालिकाको समग्र शैक्षिक अवस्थाको समीक्षा गर्दै आगामी शिक्षा योजनालाई प्रभावकारी, व्यावहारिक र नतिजामुखी बनाउन आवश्यक सुझाव संकलन गरिएको हो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मल्लाहले शैक्षिक गुणस्तर सुधारका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले विद्यालयका आवश्यकता पहिचान गरी उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग हुने गरी शिक्षा योजना अद्यावधिक गर्नुपर्नेमा जोड दिनुभयो।


शिक्षा शाखा प्रमुख देवी मल्लले गाउँ शिक्षा योजना अद्यावधिकको आवश्यकता, प्रक्रिया र प्राथमिकताबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले गाउँपालिकाको वर्तमान शैक्षिक अवस्था, शैक्षिक सूचक, योजनाको दूरदृष्टि, लक्ष्य तथा उद्देश्यबारे जानकारी गराउनुभएको थियो। प्रस्तुतीकरणमा शिक्षा क्षेत्रका पाँच प्राथमिकता र मुख्य रणनीति, विद्यालयका सबल पक्ष, समस्या, अवसर र चुनौती, लगानी तथा स्रोत व्यवस्थापनका साथै योजना कार्यान्वयन, अनुगमन र मूल्याङ्कनका विषय समेटिएका थिए।

छलफलका क्रममा प्रधानाध्यापकहरूले विद्यालयमा देखिएका समस्या, शैक्षिक गुणस्तर सुधारका उपाय तथा आगामी गाउँ शिक्षा योजनामा समेट्नुपर्ने विषयबारे आ–आफ्ना सुझाव राखेका थिए।

कार्यक्रममा वरिष्ठ लेखा अधिकृत निराजन राज लम्साल,सहायक पशु विकास अधिकृत शेर बहादुर हमाल , ऐरावती बहुमुखी क्याम्पस लालमटियाका क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली, गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू लगायतको उपस्थिति रहेको थियो।