
काठमाडौ, १५ असार ।
लुम्बिनी प्रदेशको बजेट निर्माण गर्दा गोली हान्ने धम्की दिएर विवादित बनेका सरोज थापा उर्फ प्युठान र काठमाण्डौको सिने क्षेत्रमा रोज राणा भनी चिनिने प्रादेशिक मन्त्रीले आफ्नो खेतमा एक करोड बजेट पारेको भेटिएको छ ।
लुम्बिनीको शहरी विकास तथा खानेपानी मन्त्री रहेका उनको शिवराज नगरपालिका-५ चन्द्रौटास्थित खेतमा प्रदेश सरकारबाट आगामी आर्थिक बर्षमा सडक निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको हो।
भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत विनियोजित सो क्षेत्र निजी प्लटिङ जग्गा हो । “शिवराज–५,नयाँबस्तीस्थित मनकुमारी थापा र नारायण पौडेलको घर वीचबाट जाने सडक कालोपत्रे” भनिएको १० कट्ठा १० धुर क्षेत्रफल जग्गा सरोज थापा ९रोज०को नाममा छ भने अरु चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डे,भूमाफियाहरु जीवलाल पौडेल र मोहन केसीको हो ।
चन्द्रौटा मालपोत कार्यालयको श्रेस्ताअनुसार साविक भगवापुर ८ ख कित्ता नम्बर ३७५१ म रहेको १० कठ्ठा १० धुर क्षेत्रफल र कित्ता नम्बर ३७४८ को १ कट्ठा ११ धुर जग्गासमेत उनैका नाममा छ । स्थानीयवासीहरुका अनुसार त्यहाँ १ वर्षअघि मात्र कच्ची ट्रयाक खोलिएको र सबै जग्गा प्लटिङकै हो । त्यो बाटोमा कुनै पनि घर छैन ।
मन्त्री थापाले भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालसंग मिलेर आफ्नो योजना ढकालको मन्त्रालयमार्फत र ढकालको योजना आफ्नो मन्त्रालयमार्फत हाल्न लगाएको एक प्रदेश सांसदको दावी छ । प्रदेश सरकारको आ.व.८२/८३ को बजेटमाथि व्यापक असन्तुष्टि बढिरहेका बेला राज्यकोषको रकम पदमा बस्ने मन्त्री आफैले आफ्ना घर घडेरीमा हाल्न थालेपछि जनता गणतन्त्रमा यस्तै हुन्छ भनी आक्रोशित बन्न थालेका छन् ।
यसैगरी मन्त्री थापाले जग्गा प्लटिङका आफ्ना साझेदार यज्ञ पाण्डे,इश्वरी पाण्डे तथा जीवलाल पौडेलसंग मिलेर सडक नै नभएको जग्गामा ७० लाख बजेट हालेका छन् । उनले आफ्नै शहरी विकासमार्फत सि.नं. ३११५९ नारायणी पेट्रोलियम पूर्वबाट दक्षिणतर्फ बस्ती विकास भनेर ७० लाख बजेट छुट्याएका छन् । उक्त जग्गा २ महिनाअघि मात्र जग्गाधनी राजु शाहसंग ६ करोडमा १६ कट्ठा जग्गा खरिद गरिएको हो । हालसम्म त्यहाँ कुनै सार्वजनिक वा निजी सडक नै छैन ।
यति मात्र होइन, मन्त्री थापाले शहरी विकासबाटै शिवराज-३ मधवामा देवराज सुनारको घरदेखि गोविन्द पोख्रेलको घरसम्म सडक भनेर ३५ लाख र त्यही जग्गामा पुनः २५ लाख बजेट हालेका छन् तर त्यहाँ पनि कुनै सडक र बस्ती नै छैन । यस्ता दर्जनौँ व्यक्तिका घर जग्गामा हालेका योजनाबारे त्यस क्षेत्रका एमाले प्रदेश सांसद अर्जुनकुमार केसी समेत अनभिज्ञता प्रकट गर्दछन् ।
“कसले कुन उध्देश्यले कुन शक्ति केन्द्रले हाल्यो थाहा भएन तर निजी जग्गामा यसरी बजेट आउनु दुखद हो” उनले भने । यो बजेटको धेरै विरोध भइरहेको छ । बजेट सार्वजनिक भएलगत्तै एमाले नेता तथा प्रदेश सांसद विष्णु पन्थी,कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले विरोध गरेका छन् भने कपिलवस्तु कांग्रेसले रोज राणालगायत नेतालाई प्रवेशमै रोक लगाएको छ । साभारः जनआस्था अनलाईन



लाइभदाङ । १५ असार २०८२, आईतवार २१:४२ बजे