जखेरा गाउँमा फेरियो खानेपानीको अवस्था, स्थानीय खुसी

प्रिया स्मृती गजमेर
दाङ, ०३ मङ्सिर ।
लुम्बिनी प्रदेशकै प्रसिद्ध पर्यटकीय स्थल जखेराताल । चारैतिर प्राकृतिक सौन्दर्यले भरिएको यो तालमा पानी भरिभराउ हुन्छ । तर यही तालको काखैमा रहेको जखेरा गाउँका बासिन्दाले केही वर्षअघिसम्म खानेपानीको चरम अभाव झेल्नुपरेको थियो । आँखैअगाडि पानीको ठूलो स्रोत भए पनि गाउँलेलाई पिउने पानीको जोहो गर्न सहज थिएन ।

लमही नगरपालिका–३ मा पर्ने जखेरा गाउँमा थारू, क्षेत्री, ब्राह्मण, दलित तथा विभिन्न जनजाति समुदायका मानिसहरू लामो समयदेखि मिलेर बसोबास गर्दै आएका छन् । गाउँको साझा समस्या थियो– खानेपानी । पानीकै लागि स्थानीयले वर्षौंदेखि दुःख र सास्ती भोग्दै आएका थिए । कतिपय अवस्थामा वर्षायाममा धमिलो पानी पिएरसमेत तिर्खा मेटाउनुपर्ने बाध्यता थियो ।

समयसँगै गाउँको खानेपानी समस्याले निकास पाएको छ । स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिहरूले खानेपानीलाई प्राथमिकतामा राखेर योजना अघि बढाएसँगै अहिले गाउँका घरघरमा खानेपानीका धारा जडान भएका छन् । घरमै धारा पुगेपछि स्थानीयको दैनिकी सहज बनेको छ भने वर्षौंदेखिको पानीको दुःख पनि विस्तारै हट्दै गएको छ ।

लमही नगरपालिका–३ को कोहल्वा टोलकी आगन्ती चौधरी घरमै खानेपानीको धारा जडान भएपछि निकै खुसी हुनुहुन्छ । विगतमा खानेपानीका लागि गर्नुपरेको संघर्ष सम्झँदै उहाँले वर्षायाममा धमिलो पानी पिएरसमेत तिर्खा मेटाउनुपर्ने अवस्था रहेको बताउनुभयो । लामो समयसम्म पानीको समस्याले दुःख दिएको स्मरण गर्दै उहाँले अहिले घरमै धारा पुगेपछि ठूलो राहत मिलेको बताउनुभयो ।

त्यस्तै, जखेरा गाउँकी स्थानीय तीर्था चौधरी पनि घरघरमा खानेपानीको पाइप विस्तार भएपछि खुसी हुनुहुन्छ । उहाँका अनुसार तीन वर्षअघि नै गाउँका बासिन्दाले घरमै खानेपानी पिउन पाउने अवस्था बनेको हो ।

“पहिले धेरै समस्या थियो । अहिले तीन वर्षअघिदेखि नै यो गाउँका स्थानीयले खानेपानी पिउन पाएका छौँ । यसका लागि वडा कार्यालयलाई धन्यवाद छ । अब यसैगरी बाटो ग्राभेल र नाला निर्माण गरिदिए हामी अझै आभारी हुने थियौँ,” उहाँले भन्नुभयो ।

जखेरा गाउँकी अर्की स्थानीय राजकुमारी चौधरीको अनुभव पनि उस्तै छ । विगतमा जखेरा ताल भित्र रहेको एउटा नल्काबाट पानी ल्याएर स्थानीयले आफ्नो दैनिकी चलाउने गरेको उहाँ बताउनुहुन्छ । पानीको अभावका कारण दैनिक जीवन नै प्रभावित हुने गरेको स्मरण गर्दै उहाँले अहिले घरघरमा चौविसै घण्टा पानी आउन थालेपछि निकै सहज भएको बताउनुभयो ।

त्यस्तै, मनकुमारी चौधरी पनि गाउँमा खानेपानीको पाइप विस्तार भएपछि खुसी हुनुहुन्छ । वडा कार्यालयले बजेट विनियोजन गरेर गाउँमा खानेपानीको व्यवस्था गरिदिएको भन्दै उहाँले बाँकी विकास निर्माणका काम पनि क्रमशः पूरा हुने अपेक्षा व्यक्त गर्नुभयो ।


“वडा कार्यालयले बजेट विनियोजन गरेर हाम्रो गाउँमा खानेपानीको पाइप विस्तार गर्दा हामी निकै हर्षित छौँ । अझै केही विकासका काम गर्न बाँकी छन् । सायद ती काम पनि बिस्तारै पूरा हुँदै जानेछन् भन्ने आशा छ,” उहाँले भन्नुभयो ।

केही वर्षअघिसम्म खानेपानीको चरम अभाव झेल्दै आएको जखेरा गाउँमा २०७९ सालको दोस्रो स्थानीय तह निर्वाचनपछि विकास निर्माणका योजनाले प्राथमिकता पाउन थालेका हुन् । निर्वाचनका बेला जनप्रतिनिधिहरूले गाउँमा खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धताअनुसार निर्वाचित भएको पहिलो वर्षदेखि नै वडा कार्यालयले खानेपानी विस्तारका लागि बजेट विनियोजन गरेर काम अघि बढाएको थियो ।

लमही नगरपालिका ३ का वडा अध्यक्ष मनोजकुमार चौधरीले जखेरा गाउँमा खानेपानी पुर्‍याउनु आफ्नो चुनावी एजेन्डामध्ये एक रहेको बताउनुभयो । स्थानीयको वर्षौंदेखिको समस्यालाई प्राथमिकतामा राखेर प्रतिबद्धताअनुसार खानेपानी विस्तारको काम गरिएको उहाँको भनाइ छ ।

उहाँले खानेपानीसँगै शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा पनि अझै काम गर्न बाँकी रहेको बताउनुभयो । गाउँको आवश्यकता र उपलब्ध स्रोतसाधनका आधारमा बाँकी योजनाहरू पनि सकेसम्म क्रमशः पूरा गर्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी, वडा सदस्य दौकली नेपालीले स्थानीयको चाहना र आवश्यकताका आधारमा वडा कार्यालयले बजेट विनियोजन गर्दै आएको बताउनुभयो । स्थानीयको मागअनुसार विकास निर्माणका योजनाहरू प्राथमिकताका साथ अघि बढाइएको र ती योजनाहरू क्रमशः कार्यान्वयन हुँदै गएको उहाँको भनाइ छ ।

निर्वाचनका बेला गरिएको प्रतिबद्धता कार्यान्वयनमा आउँदा जखेरा गाउँको खानेपानीको अवस्थामा परिवर्तन भएको छ । खानेपानीको पाइप विस्तारसँगै नाला निर्माण र सडक ग्राभेलका कामले पनि गाउँको भौतिक पूर्वाधारमा सुधार ल्याएको छ, उत्तर तर्फ वन क्षेत्र पर्ने भएकाले दुवै तर्फ नाला निर्माणमा समस्या सिर्जना भएको छ । यसले स्थानीयको दैनिकी सहज बनाउनुका साथै गाउँमा विकासप्रतिको आशासमेत जगाएको छ ।

जखेरातालमा पानी भरिएको दृश्य हेर्न आउने पर्यटकका लागि यो ठाउँ प्राकृतिक सौन्दर्यको आकर्षण हुन सक्छ । तालकै छेउमा बसेर पनि पानीका लागि संघर्ष गर्नुपरेका जखेरा गाउँवासीका लागि घरको धाराबाट आउने पानी सुविधा मात्र नभएर वर्षौंदेखिको दुःखबाट प्राप्त भएको राहत हो ।

विकास भनेको ठूला संरचना र आकर्षक योजना निर्माण गर्नु मात्र नभई नागरिकको आधारभूत आवश्यकता पूरा गर्नु पनि हो । जखेरा गाउँमा खानेपानी विस्तारसँगै देखिएको परिवर्तनले यही कुरालाई स्मरण गराउँछ । यद्यपि, स्थानीयले अपेक्षा गरेका सडक, नाला, शिक्षा, स्वास्थ्य तथा कृषिका बाँकी आवश्यकता पनि क्रमशः सम्बोधन हुन सके गाउँको समग्र विकासले थप गति लिनेछ ।