
इन्द्र कुमार वली
दाङ, ९ फाल्गुन ।
दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका समीर ओली ले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्। प्रेस विज्ञप्ति जारी गर्दै उनले परिवर्तनका पक्षधर शक्तिबीच एकता आवश्यक रहेको निष्कर्षसहित उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन्। ओलीले ठूला भनिएका राजनीतिक दल तथा नेताहरूले चुनावअघि गरेका प्रतिबद्धता र चुनावपछिको कार्यशैलीबीच ठूलो अन्तर देखिएको उल्लेख गर्दै आफू लामो समयदेखि निराश र असन्तुष्ट रहेको बताएका छन्। सुशासन, पारदर्शिता, जवाफदेहिता र वास्तविक परिवर्तनको उद्देश्यसहित स्वतन्त्र उम्मेदवारका रूपमा अघि बढेको उल्लेख गर्दै उनले आफ्नो अभियानले जनतामा सकारात्मक सन्देश र आशा जगाएको दाबी गरेका छन्।
तर, परिवर्तनकै समान उद्देश्य बोकेर एउटै क्षेत्रमा धेरै स्वतन्त्र तथा वैकल्पिक उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहँदा मत विभाजन हुने र पुरानै सोच बोकेका शक्तिहरू पुनः सत्तामा फर्किने जोखिम देखिएको उनले बताएका छन्। यही यथार्थलाई गम्भीरतापूर्वक मूल्याङ्कन गर्दै परिवर्तनका लागि एकीकृत शक्ति निर्माण आवश्यक ठानेको उनले स्पष्ट पारेका छन्। यसै सन्दर्भमा आफ्नो एजेण्डा र उद्देश्यसँग नजिक रहेको वैकल्पिक राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी का तर्फबाट दाङ–२ का उम्मेदवार विपिन कुमार आचार्यलाई समर्थन गर्ने निर्णयसहित आफूले उम्मेदवारी औपचारिक रूपमा फिर्ता लिएको ओलीले घोषणा गरेका छन्।
उनले यस निर्णयले परिवर्तन पक्षधर शक्तिबीच एकता मजबुत हुने, मत विभाजन रोकिने र वैकल्पिक राजनीति सुदृढ बन्ने विश्वास व्यक्त गरेका छन्। साथै आफ्ना सम्पूर्ण समर्थक, शुभेच्छुक तथा परिवर्तन चाहने मतदातालाई आगामी निर्वाचनमा वैकल्पिक शक्तिलाई सशक्त बनाउन एकजुट भएर सहयोग गर्न हार्दिक अपिल गरेका छन्। दाङ क्षेत्र नम्बर २ मा चुनावी प्रतिस्पर्धा रोचक बन्दै गइरहेका बेला ओलीको उम्मेदवारी फिर्ता र समर्थन घोषणाले चुनावी समीकरणमा नयाँ मोड ल्याएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।




लाइभदाङ । ९ फाल्गुन २०८२, शनिबार २२:०९ बजे