दाङमा हावाहुरी र असिनाले आँप खेतीमा क्षति, ४० प्रतिशतसम्म उत्पादन घट्ने अनुमान

शरद शर्मा मजगैया
दाङ,१७ जेठ ।
दाङसहित देशका विभिन्न क्षेत्रमा फागुनदेखि वैशाखसम्म आएको हावाहुरी, असिनापानी तथा मौसमीय प्रतिकूलताका कारण यस वर्ष आँप उत्पादनमा ठूलो क्षति पुगेको छ। आँप फुल्ने र साना दाना लाग्ने संवेदनशील समयमा आएको प्राकृतिक विपत्तिले बगैँचामा रहेका अधिकांश फल झारेपछि उत्पादनमा उल्लेख्य गिरावट आउने देखिएको हो।

किसानहरूका अनुसार यस वर्ष आँपका बोटहरूमा राम्रोसँग फूल लागेको र उत्पादन पनि आशाजनक देखिएको थियो। तर लगातारको हावाहुरी र असिनापानीले फल झारिदिएपछि अहिले धेरै बोटमा निकै कम मात्रामा आँप बाँकी रहेका छन्। कतिपय बगैँचामा त बोटभरि एक–दुई दर्जन आँप मात्र देखिने अवस्था सिर्जना भएको तुल्सीपुर १४ करंगा निवासी गोविन्द पौडेल बताउनुहुन्छ।

हरेक वर्ष हरियाली आँपले भरिभराउ देखिने बगैँचाहरू यसपालि सुनसानजस्तै देखिन थालेका छन्। उत्पादनमा आएको गिरावटले किसानहरू निराश बनेका छन् भने उपभोक्ताले पनि यस वर्ष स्थानीय आँपको अभाव सामना गर्नुपर्ने संकेत देखिएको छ।

कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकृत पृथ्वीराज लामिछानेका अनुसार यस वर्ष दाङमा आँप उत्पादन गत वर्षको तुलनामा ३० देखि ४० प्रतिशतसम्म घट्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ। उहाँका अनुसार आँपमा एक वर्ष राम्रो उत्पादन हुने र अर्को वर्ष स्वाभाविक रूपमा कम उत्पादन हुने प्रकृति रहन्छ। गत वर्ष उत्पादन राम्रो भएकाले यस वर्ष केही कमी आउने अपेक्षा पहिल्यै थियो, तर त्यसमा हावाहुरी र असिनापानीले थप क्षति पुर्‍याएको छ।


“यस वर्ष आँप राम्रो हुने आशा गरिएको थियो, तर फूल र साना फल लाग्ने समयमा आएको हावाहुरी तथा असिनाले ठूलो असर पुर्‍यायो,” लामिछानेले भन्नुभयो।

दाङ विशेषगरी दशहरी जातको आँप उत्पादनका लागि परिचित मानिन्छ। यहाँ उत्पादन हुने आँप स्थानीय बजारमा मात्र नभई पोखरा लगायतका विभिन्न सहरमा समेत निर्यात हुने गरेको छ। तर उत्पादनमा आएको गिरावटका कारण यस वर्ष स्थानीय मागसमेत पूर्ण रूपमा धान्न कठिन हुने देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

उत्पादन घटेसँगै बजारमा आँपको अभाव हुने र मूल्य वृद्धि हुन सक्ने अनुमान गरिएको छ। वर्षभरि गरेको मेहनत केही घण्टाको हावाहुरी र असिनाले नष्ट गरिदिँदा किसानहरू चिन्तित बनेका छन्। मौसमको बढ्दो अनियमितताले फलफूल खेतीमा समेत प्रत्यक्ष असर पार्न थालेको भन्दै किसानहरूले कृषि बिमा तथा क्षति न्यूनीकरणका प्रभावकारी कार्यक्रम आवश्यक रहेको बताएका छन्।

यस वर्ष आँप उत्पादनमा आएको कमीले किसानको आम्दानीमा असर पार्ने मात्र होइन, उपभोक्ताले पनि स्थानीय आँपको स्वाद चाख्न महँगो मूल्य तिर्नुपर्ने अवस्था सिर्जना हुने संकेत देखिएको छ।