मावि कालाखोलामा अपांगमैत्री भवन निर्माण

तुलसीपुर १२ कात्तिक ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित मावि कालाखोलामा अपांगमैत्री भवन निर्माण भएको छ । ८ कोठाको दुई तले अपाङ्ग मैत्री भवन निर्माण भएको हो । छाया नेपालको ८० प्रतिशत र तुलसीपुर उपमहानगरपालिकाको २० प्रतिशत लगानीमा भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक राजीव ओझाले बताउनुभयो ।

उहाँका अनुसार १ करोड ५३ लाखमा उक्त भवन निर्माण भएको हो । सोही विद्यालयमा शारिरीक अपाङ्गता भएका विद्यार्थीहरुले अध्यापन गर्ने भएपनि अपाङ्गमैत्री नहुँदा समस्या हुने गरेको थियो । त्यसलाई मध्येनजर गरि उक्त भवन निर्माण भएको उहाँको भनाई छ । “विद्यालयमा शारिरीक अपाङ्गता भएका विद्यार्थीहरुकालागि छात्रवाससहित अध्यापन हुने गर्छ”,उहाँले भन्नुभयो“तर, अपाङ्ग मैत्री भवन नहुँदा निकै समस्या भएको थियो, अहिले भवन निर्माण भएपछि सहज हुने अपेक्षा लिएका छोैं ।”

भवनको बुधबार तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा प्रमुख अतिथि खड्काले अपाङ्गता भएका विद्यार्थीहरुकालागि सहज हुने बताउनुभयो ।


तुलसीपुर अपांगता अध्ययन केन्द्रका व्यवस्थापक यज्ञबहादुर बिकले अपांगमैत्री भवन नहुँदा विद्यार्थीहरुले सास्ती खेप्नु परेको भन्दै अब त्यो समस्या समाधान भएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.७ का अध्यक्ष रामबहादुर जिसीको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरी, छायाँ अष्ट्रियाका सविने क्लोज्जे, छयाँ नेपालका जीवन थापा, तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारी, विद्यालयका पूर्वविव्यस, पूर्वप्रधानाध्यापकहरु, अभिभावक प्रतिनिधिलगायतले मन्तव्य राख्नुभएको हो ।

विद्यालयका प्रधानाध्यापक राजिव ओझाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक होमराज डाँगीले गर्नुभएको हो ।