दीपक बोहरा
तुलसीपुर, ५ मंसिर ।
दाङको काँग्रेस भित्र कठीन समयमा पनि पार्टीको नेतृत्व गर्ने एउटा नेताको नाम हो–टोपबहादुर केसी । जो तुलसीपुरका सिनियर नेता मध्येका एक हुन् । बहुदल ल्याउनकालागि तुलसीपुरमा भएका बिभिन्न आन्दोलनमा उनले नेतृत्व गरेका छन् । किनकी उनी त्यतिबेला नै पार्टीको क्षेत्रीय सभापति थिए । पार्टीको ११ औं महाधिवेशनबाट उनी तत्कालिन दाङ क्षेत्र नं. ३ को सभापति भएका थिए । जतिबेला मुलुकमा २०६२÷०६३ को आन्दोलन चलिरहेको थियो ।
संक्रमणकालिन अबस्थामा पार्टीको नेतृत्व गरेका केसी त्यसपछिका महाधिवेशनबाट भने उनी नेतृत्वमा आउन पाएनन् । बाह्रौं र तेह्रौं महाधिवेशनबाट नेतृत्वमा नआएपनि उनी पार्टीको काममा भने नियमित सक्रिय रहे । त्यसकै फलस्वरुप २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ बाट अध्यक्ष निर्वाचित भएका थिए । अब पार्टीको चौधौं महाधिवेशनमा उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । अहिले उनी केन्द्रीय नेतृत्व छान्न पाउने गरि महाधिवेशन प्रतिनिधि हुनेमा विश्वस्त रहेको बताउछन् ।
उनको राजनीतिक यात्रा
वीपी कोईरालाबाट प्रभाबित भएर उनी २०३३ सालमा पार्टीको राजनीतिमा होमिएका थिए । जतिबेला उनी १५ बर्षको मात्रै थिए । आफ्ना काका र दाईहरु राजनीतिमै सक्रिय भएकाले पनि उनलाई राजनीतिमा सक्रिय हुन प्रेरणा मिल्यो । त्यसपछि २०३७ सालमा जनमत संग्रह भयो । उक्त चुनाबमा बहुदलको पक्षमा बाँकेमा चुनाब प्रचार–प्रसारमा खटिएका थिए । त्यतिबेलाको निर्वाचनमा पञ्चायतको पक्षमा बहुमत भयो र मुलुकमा पञ्चायती शाषण व्यबस्थाले निरन्तरता पायो ।
काँग्रेसलगायत अन्य कम्युनिष्ट पार्टीहरुले आन्दोलनलाई जारी राखेकै थिए । सोही क्रममा काँग्रेुले २०४२ सालमा सत्याग्रह थालनी गरेको थियो । यो आन्दोलनमा पनि केसी सक्रियताकासाथ लागे । सत्याग्रहकै क्रममा उनी पक्राउ समेत परे । उनलाई नेपालगञ्जबाट पक्राउ गरि छिन्चु लगिएको थियो । त्यतिबेला पक्राउ पर्ने उनी मात्रै थिएनन्, गिरिजा प्रसाद कोईराला, नेता महेश आचार्य, सुरेन्द्र हमाललगायत थिए । त्यतिबेला पक्राउ परेका केहीलाई दाङको भालुवाङ ल्याईएको थियो, भने केहीलाई नगर प्रहरी नेपालगञ्ज नै राखियो भने केही सहित केहीलाई छिन्चु लगिएको थियो ।
त्यस दिनभर भोकै बसाल्यो र अर्को दिन उनीहरुलाई छोडिएको थियो । जतिबेला केसी काँग्रेसको विद्यार्थी राजनीतिमा सक्रिय थिए । २०४६ सालको आन्दोलन पछि मुलुकमा बहुदल प्राप्त भयो । त्यसपछि उनी दाङको पार्टीमा सक्रिय भएर लागे । उनी तत्कालिन अबस्थामा तुलसीपुर नगर पार्टीको सचिब थिए, भने सभापति कीर्तिबहादुर खड्का थिए । खड्का अहिले पार्टीको जिल्ला सभापति छन् ।
त्यसपछि उनी पार्टीको नवौं औं महाधिवेशनबाट दाङ क्षेत्र नं. ३ को सहसचिब भए । त्यतिबेला सभापति तेजबहादुर बस्नेत थिए । दशौं महाधिवेशनबाट उनी पार्टीको क्षेत्रीय सचिब भए । भने ११ औं महाधिवेशनमा सभापति भएका थिए । त्यतिबेला काँग्रेस फुटेर दुई वटा पार्टीमा परिणत भएको थियो । केसी भने संस्थापन पक्षमा लागे । सभापति हुँदा मुलुकमा २०६२÷ ०६३ को आन्दोलन चलिरहेको थियो । त्यसको नेतृत्व उनले गरिरहेका थिए ।
त्यही क्रममा केसी सहित शंकर आचार्य, केशव आचार्य, बेलदेव शर्मा, जनार्दन आचार्यसहित १० जनालाई प्रहरीले पक्राउ गरेको थियो । १२ औं र १३ औं महाधिवेशनमा उनी पार्टीको कुनै पनि भूमिकामा आउन सकेनन् । अहिले जारी १४ औं महाधिवेशनमा केन्द्रीय प्रतिनिधिको उम्मेदवार छन् ।
शिक्षामा पनि उत्तिकै स्थापीत
उनी शिक्षा क्षेत्रमा पनि उत्तिकै स्थापित ब्यक्ती हुन् । उनले तुलसीपुरमै चारवटा निजि विद्यालय स्थापना गरेका छन् । आफ्ना छोराको नामबाट सम्राट वोर्डिङ स्कुल खोलेका थिए । त्यस्तै त्रिदेव, तुलसीपुर एकेडेमी, रक्षाचौरको शारदा स्कुल उनले स्थापना गरेका हुन् । राजनीतिसंगै शिक्षा क्षेत्रमा सक्रिय उनी योग शिक्षक पनि हुन् ।
उनी लामोसमयदेखि योग शिक्षकका रुपमा कार्यरत रहदै आएका छन् । जनप्रतिनिधि भएपछि पनि उनी नियमित योग गराउछन् । विहान कहिल्यै ३ त, कहिल्यै ४ बजे उठेर नियमित कामहरु छन् । उनले आफ्नै कार्यकालमा ‘रामदेव बाबा’लाई ल्याएर योगसभा गर्ने योजना बनाएका थिए । तर, बीच–बीचमा भएका लकडाउन तथा कोरोना महामारीले गर्दा त्यो कार्यक्रम भने सफल हुन सकेन । (अग्रिम साप्ताहिकको २०७८ मंसिर ६ गते सोमबार‘जीवनयात्रा’मा प्रकाशन हुने विषयबस्तुको केही अंश )
लाइभदाङ । ५ मंसिर २०७८, आईतवार १५:०६ बजे