राप्तीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीबारे बैठक

भालुबाङ, २१ असोज।
दाङको राप्ती गाउँपालिकामा आगामी मंसिरमा सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीबारे बुधबार बैठक सम्पन्न भएको छ।

गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सञ्चालन हुने प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चाैधरीकाे अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहकाे उपस्थितिमा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा खेल शिक्षकहरूको बैठक बसेको हो।

गाउँपालिकाको सहयोग तथा आदर्श नमुना माध्यमिक विद्यालय लालमटियाको आयोजनामा मंसिर १० देखि १२ गतेसम्म तीन दिन प्रतियोगिता सञ्चालन हुनेछ।


बैठकमा प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन, खेलकुदका प्राविधिक पक्ष, विद्यालयहरूको सहभागिता, खेलाडी छनोट तथा आवश्यक तयारीका विषयमा छलफल गरिएको थियो। प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न विद्यालय, खेल शिक्षक तथा आयोजक पक्षबीच आवश्यक समन्वय र सहकार्य गर्ने विषयमा समेत जोड दिइएको थियो।

बैठकले प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन सम्बन्धित विद्यालय तथा सरोकारवाला सबै पक्षले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्नुपर्ने निष्कर्ष निकालेको छ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहमा खेलकुदको विकाससँगै विद्यार्थीमा रहेको खेल प्रतिभा पहिचान र प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।