राप्तीमा सरसफाइ रनिङ्ग शिल्ड कार्यविधि संशोधनबारे छलफल

भालुबाङ, २१ असोज ।
दाङको राप्ती गाउँपालिकामा सरसफाइ रनिङ्ग शिल्ड कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले सरसफाइ रनिङ्ग शिल्ड निर्देशक समितिको बैठक सम्पन्न भएको छ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा बुधबार सम्पन्न बैठकमा सरसफाइ रनिङ्ग शिल्ड कार्यविधि, २०८२ संशोधन, मूल्यांकन प्रणाली तथा कार्यक्रमलाई प्रविधिमैत्री बनाउने विषयमा छलफल भएको हो।

बैठकमा कार्यवाहक अध्यक्ष चौधरीले सरसफाइ रनिङ्ग शिल्डलाई प्रभावकारी बनाउन कार्यविधिलाई समयसापेक्ष बनाउँदै लैजानुपर्ने बताउनुभयो। उहाँले सरसफाइलाई अभियानका रूपमा मात्र नभई गाउँपालिकाको दिगो विकाससँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहले कार्यविधिमा स्पष्ट र व्यावहारिक प्रावधान समेटेर कार्यक्रमको कार्यान्वयन तथा मूल्यांकनलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। उहाँले सरसफाइको अवस्थाका आधारमा हुने मूल्यांकनलाई पारदर्शी र वस्तुनिष्ठ बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।

बैठकमा गाउँपालिकाका सरसफाइ शाखा प्रमुख गीता चौधरीले सरसफाइ रनिङ्ग शिल्ड कार्यविधिका मुख्य प्रावधान, हालसम्मको कार्यान्वयन अवस्था तथा संशोधन गर्नुपर्ने विषयका बारेमा जानकारी गराउनुभयो।


रोजगार शाखा प्रमुख तथा वातावरणविद् मुमाराम भुसालले कार्यविधिमा गर्नुपर्ने संशोधनका विषय प्रस्तुत गर्दै सरसफाइसँगै वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनका पक्षलाई समेत प्रभावकारी रूपमा समेट्नुपर्ने धारणा राख्नुभयो।

त्यस्तै, सूचना प्रविधि शाखा प्रमुख बालचन्द्र गुरुङले सरसफाइ रनिङ्ग शिल्डमा डिजिटल अवार्ड तथा प्रविधिको प्रयोगका विषयमा जानकारी गराउनुभयो। उहाँले मूल्यांकन प्रक्रियालाई प्रविधिमैत्री बनाउँदा तथ्यांक व्यवस्थापन, अनुगमन तथा परिणाम सार्वजनिक गर्न सहज हुने बताउनुभयो।

बैठकमा सहभागी समितिका सदस्यहरूले कार्यविधि संशोधन, सरसफाइको नियमित अनुगमन, मूल्यांकनका सूचक, डिजिटल प्रणाली तथा पुरस्कार वितरण प्रक्रियालाई थप व्यवस्थित बनाउने विषयमा सुझाव दिएका थिए।

बैठकको सहजीकरण सरसफाइ सुपरभाइजर सुरेश बैमा मगरले गर्नुभएको थियो।