दाङमा चाउचाउ विस्कुट चोरी गर्ने चौधरीलाई ६ महिना कैद

दाङ, २१ असोज ।
दाङको घोराहीमा टिनको टहरा फोडेर किराना पसलका सामान चोरी गरेको मुद्दामा उच्च अदालत तुलसीपुरले जिल्ला अदालतकै फैसला सदर गरेको छ। उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्‍वर तिवारी र न्यायाधीश यज्ञ बहादुर राना मगरको संयुक्त इजलासले प्रतिवादी सन्तोष चौधरी (भान्जा) लाई ६ महिना कैद र रु. ५,००० जरिवाना तोक्ने जिल्ला अदालतको निर्णयलाई निरन्तरता दिएको हो।

घोराही उपमहानगरपालिका–१३ ज्यामिरे दहस्थित टिनको टहरामा अमृत बहादुर रोका र विरजन पुनले साझेदारीमा खुद्रा किराना पसल सञ्चालन गर्दै आएका थिए। २०८२ साल जेठ १३ गते राति हलोको फालो प्रयोग गरी पसलको ढोकाको ताल्चा फोडेर ग्याँस सिलिन्डर, चिनी, चना, आटा, चाउचाउ, बिस्कुट, रेडबुल, कोक लगायतका सामग्री चोरी भएको थियो।

जाहेरी परेपछि प्रहरीले जेठ १४ गते घोराही–१३ सेवार बनगाउँ बस्ने सन्तोष चौधरीलाई पक्राउ गरेको थियो। उनको घर खानतलासी गर्दा प्रहरीले चोरी भएको ग्याँस सिलिन्डर, खाद्यान्न सामग्री र ताल्चा फोड्न प्रयोग गरिएको हलोको फालो बरामद गरेको थियो।


वादी नेपाल सरकारको तर्फबाट मुलुकी अपराध संहिता, २०७४ को दफा २४३ अनुसार ुनकबजनी चोरीु को कसूरमा कडा सजाय र बरामद हुन नसकेको सामानको बिगो रु. ९,६१० भराउन मागदाबी गरिएको थियो।

तर, दाङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश टिकेन्द्र दाहालको इजलासले २०८२ पुस २३ गते फैसला गर्दै, प्रतिवादीले घरको ढोका नभई व्यापारिक प्रयोजनको टिनको टहराबाट चोरी गरेको देखिएकाले नकबजनी चोरी नभई साधारण चोरी (दफा २४२(२) कायम हुने ठहर गरेको थियो। सोही अनुसार प्रतिवादीलाई ६ महिना कैद र रु. ५,००० जरिवाना तथा अपराध पीडित संरक्षण ऐन बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क दाखिला गराउने फैसला भएको थियो।

जिल्ला अदालतको उक्त फैसलाउपर वादी नेपाल सरकारले उच्च अदालतमा पुनरावेदन गरे तापनि उच्च अदालत तुलसीपुरले जिल्ला अदालतको ठहरलाई नै मनासिब मानेको छ। अभियोजन पक्षले नकबजनी चोरी पुष्टि हुने वस्तुनिष्ठ प्रमाण पेस गर्न नसकेको र टिनको टहराबाट भएको चोरीलाई साधारण चोरी मान्ने सुरु अदालतको निष्कर्ष कानूनसम्मत रहेको उच्च अदालतको फैसलामा उल्लेख छ।