राप्तीका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान

मसुरिया, २१ असोज।
दाङको राप्ती गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ।

बुधबार गाउँ कार्यपालिकाको कार्यालयले शिक्षा नियमावली २०५९ (दशौं संशोधनसहित) को नियम ९३ काे उपनियम -२ तथा गाउँ शिक्षा समितिको निर्णयअनुसार प्रधानाध्यापक छनोट तथा नियुक्तिका लागि सूचना जारी गरेको हो।

पालिकाभित्रका २६ वटा सामुदायिक विद्यालयमा रिक्त प्रधानाध्यापक पदका लागि सम्बन्धित विद्यालयको सोही तहमा कार्यरत स्थायी शिक्षकले आवेदन दिन सक्नेछन्।

सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समिति वा विद्यालय प्रशासनमा आवेदन बुझाउनुपर्नेछ।

माध्यमिक तहको प्रधानाध्यापकका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरेको अथवा शिक्षा शास्त्रमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा पाँच वर्ष स्थायी सेवा पूरा गरेको हुनुपर्नेछ।


त्यस्तै, आधारभूत तहका लागि स्नातक वा सो सरह उत्तीर्ण गरेको अथवा शिक्षा शास्त्रमा प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा पाँच वर्ष स्थायी सेवा पूरा गरेको हुनुपर्नेछ।

आवेदनसँग व्यक्तिगत निवेदन, शैक्षिक योग्यताका प्रमाणपत्र, स्थायी नियुक्तिपत्र, अध्यापन अनुमति पत्र, नागरिकताको प्रतिलिपि, शिक्षण अनुभव तथा तालिमका प्रमाणपत्रसहित सिलबन्दी ‘विद्यालय विकास प्रस्ताव’ पेश गर्नुपर्नेछ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहद्वारा जारी सूचनाअनुसार प्रधानाध्यापक छनोट तथा नियुक्तिको प्रक्रिया शिक्षा नियमावलीमा तोकिएको प्रावधानअनुसार अघि बढाइनेछ।