नेसंविको ४१औँ स्थापना दिवसमा शिक्षामन्त्री पोख्रेल प्रमुख अतिथि बन्ने

दाङ , २० असोज ।
नेपाल संस्कृत विश्वविद्यालयको ४१औँ स्थापना दिवसका अवसरमा आगामी मंसिर २५ गते आयोजना हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोख्रेल प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।

स्थापना दिवस समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन मन्त्री पोख्रेललाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. भीमप्रसाद खतिवडा, शिक्षाध्यक्ष प्रा.डा. जगन्नाथ रेग्मी र योजना महाशाखा प्रमुख सुरज लामाले लमहीमा भेट गरी निमन्त्रणा गरेका हुन्।

निमन्त्रणाका क्रममा मन्त्री पोख्रेलले मंसिर २५ गते हुने स्थापना दिवस समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको विश्वविद्यालयले जनाएको छ।


भेटमा विश्वविद्यालयको समग्र विकास, शैक्षिक तथा प्राज्ञिक उन्नयन, अनुसन्धान, संस्थागत सुदृढीकरण र भावी योजनालगायत विषयमा छलफल भएको थियो।

मन्त्रालयको कामको सिलसिलामा सुर्खेततर्फ जाने क्रममा लमही पुगेका मन्त्री पोख्रेललाई विश्वविद्यालयका पदाधिकारीहरूले स्वागत गर्दै भेटवार्ता गरेका हुन्। छोटो भेट भए पनि विश्वविद्यालयको समग्र उन्नयनका विषयमा छलफल भएको विश्वविद्यालयले जनाएको छ।