वार्षिकोत्सवका कारण असोज २३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी बन्द

दाङ, २० असोज ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा यही असोज २३ गते ओपीडी सेवा बन्द रहने भएको छ।

प्रतिष्ठानको तर्फबाट रजिस्ट्रार प्रा. श्याम लम्सालद्वारा जारी सुचना अनुसार वार्षिकोत्सवका अवसरमा आयोजना हुने कार्यक्रमका कारण उक्त दिन ओपीडी सेवा बन्द रहनेछ। सो दिन इनपेसियन्ट विभाग, आकस्मिक सेवा र क्रिटिकल केयर युनिट भने सञ्चालनमा रहनेछन्।

प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रम असोज २३ गते बिहान १० बजे होटल माला–इनको हलमा आयोजना हुने भएको छ। कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता प्रमुख अतिथिका रूपमा सहभागी हुने प्रतिष्ठानले जनाएको छ।


असोज २३ गते बिहान ८ बजे बेसिक साइन्स भवनको प्राङ्गणमा मन्त्री मेहताबाट झण्डोत्तोलन हुने तथा बिहान ९ः३० बजेसम्म मन्त्री मेहता र दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यसहित प्रतिष्ठानका पदाधिकारीबीच ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको वर्तमान अवस्था र विस्तारको कार्ययोजना’ विषयमा छलफल हुने कार्यक्रम तय गरिएको छ।

वार्षिकोत्सवका दिन पूर्वनिर्धारित परीक्षामा खटिएका बाहेक प्रतिष्ठानका शिक्षक, चिकित्सक, कर्मचारी तथा विद्यार्थीको अनिवार्य उपस्थिति हुनुपर्ने सूचनामा उल्लेख छ।