राजनैतिक मुद्धालाई राजनैतिक ढंगले समाधान गर्न आग्रह

घोराही, ७ भदौ । कैलालीको टिकापुरमा भएको घटनालाई राजनैतिक ढंगले समाधान गर्न एक कार्यक्रमका वक्ताहरु आग्रह गरेका छन् । थारु कल्याणकारिणी सभा दाङ देउखुरीले शुक्रवार घोराहीमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा यस्तो आग्रह गरेका हुन् ।

कार्यक्रममा बोल्ने वक्ताहरुले २०७२ भदौ ७ गते भएको टिकापुर घटनाको सम्झना गर्दै थारु समुदायमाथी लक्षित गरी गरिएको नरसंहारको विरोध गरेका थिए । त्यस दिन थारु समुदायको लागि कालो दिन भएको बताउदै कार्यक्रमका सहभागिहरुले पहिचान र अधिकारको लागि अन्य स्थानमा गरेको विद्रोहलाई राज्यले समाधान गर्ने तर थारु समुदायले गरेको राजनैतिक विद्रोहलाई अपराधिकरण गर्न खोजेको बताएका थिए । राज्यले टिकापुर घटनाको वास्तविकता छानविन नगर्ने, छानविन भएका प्रतिवेदन पनि सार्वजनिक नगर्नु राज्यको गैरजिम्मेवारीपना भएको कार्यक्रमका सहभागिहरुले औल्याएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको आसनवाट बोल्दै थारु कल्याणकारिणी सभाका केन्द्रिय कोषाध्यक्ष चुर्ण चौधरीले टिकापुर घटनाको सम्झना गर्दै जनताले आफ्नो अधिकार र पहिचानका लागि गरेको राजनीतिक विद्रोह भएको बताउनुभयो । तर सरकारले अभिभावकत्व गर्नुको साटो उल्टै दमनको नीति लिएर थारुमाथि ढरपकड जस्ता कार्य गर्नु राज्यमाथिको प्रश्न भएको चौधरीले बताउनुभयो ।


कार्यक्रममा सभाका निर्वतमान अध्यक्ष भुवन चौधरी, पुर्व अध्यक्ष तेजमान चौधरी, क्षेत्रीय सभापति अनिल नमुवा, जग्गुलाल चौधरी, मटावाँहरु बुद्धि चौधरी, जगत चौधरी, ऋषीराज चौधरी लगायतले आ–आफुना धारणा राख्नुभएको थियो ।

निवर्तमान सचिव तथा केन्द्रिय पार्षद प्रकाश चोधरीको विषयप्रवेशवाट सुरु भएको कार्यक्रमको अध्यक्षता अशोक चौधरीले गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण शोभाराम चौधरीले गर्नुभएको थियो ।