साझा हस्पिटलमा ९३ बर्षीय खत्रीको‘हिप जोइन्ट’को अप्रेशन

तुलसीपुर, ०६ असोज ।
दाङको तुलसीपुर स्थित साझा हस्पिटलमा ९३ बर्षीय एक जेष्ठ नागरिकको ‘हिप जोइन्ट’ को सफल अप्रेशन भएको छ । घरमा लडेर ‘हिप जोइन्ट’ भाँच्चिएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरीका देवबहादुर खत्रीको सफल अप्रेशन भएको हो । तीन हप्ता अघि यसरी लडे पछि उनी थलिएका थिए । त्यसपछि उनी साझा अस्पताल गएपछि डा.रुपेश शेरचनसहितको टोलीले अप्रेशन गरेको हो । अप्रशन गरेपछि अहिले उनी हिडडुल गर्न सक्छन् ।

जोखिम मोलेर अप्रेशन
९३ वर्षको उमेरमा हिपको जोर्नी भाँचिनु अत्यन्तै जोखिमपूर्ण र गम्भीर स्वास्थ्य अवस्था मानिन्छ। यस उमेरमा हाडहरू धेरै कमजोर भइसकेका हुन्छन्, र शरीरको प्राकृतिक रूपमा निको हुने क्षमता निकै घटिसकेको हुन्छ। यो उमेरका बिरामीमा मुख्य जोखिम भनेको शल्यक्रिया र एनेस्थेसिया दिँदा मुटु, फोक्सो र मिर्गौला जस्ता मुख्य अङ्गहरूमा पर्ने ठूलो तनाव हो। त्यसमापनि खत्रीमा दम, मुटुको चालमा समस्या थियो । यस्तो अबस्थामा पनि परिवारले सहमति दिएपछि अप्रेशन गरिएको थियो । तर, त्यो अप्रेशन सफल भएको डा. शेरचनको भनाई छ ।


६० बर्षको उमेर नाघेका ब्यक्तिको प्रत्येक १०/१० बर्षमा अप्रेशन गर्दा हर्टअट्याक हुन सक्ने जोखिम, होसमा आउने गाह्रो हुनेजस्ता जोखिम हुनेगर्छन् ।

धेरै ठाउँमा उपचार गर्दा पनि केही उपाय नलागेपछि आफूहरु अस्पताल आएको उनका छोरा छप बहादुर खत्रीले बताए ।