
दाङ, २८ कार्तिक ।
योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल राप्ती गाउँपालिकाका अध्यक्ष बसन्त हमाल ‘बेगम’ले दाङको निलसागर सेवा आश्रमलाई नगदसहित खाद्यान्न सहयोग गर्नुभएको छ।
शनिबार राप्ती गाउँपालिका–८ मिलनडाँडास्थित आश्रममा पुगेर हमालले नगद १० हजार रुपैयाँसहित ६ क्विन्टल चामल, दाल, नुन र तेल सहयोग गर्नुभएको हो। उहाँले आश्रममा आश्रित व्यक्तिहरूलाई बिहानको खाना समेत खुवाउनुभएको थियो।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको रोहबरमा हमालले निलसागर सेवा आश्रमका अध्यक्ष गरिबु थारुलाई नगद तथा खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विष्टले मानवीय सेवा नै सबैभन्दा उत्कृष्ट सेवा भएको उल्लेख गर्नुभयो। समाजमा रहेका असहाय, बेसहारा तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरूप्रति सबैले मानवीय भावना राख्नुपर्ने उहाँको भनाइ थियो।
युवाहरू सामाजिक तथा रचनात्मक काममा सक्रिय हुनु सकारात्मक पक्ष भएको बताउँदै अध्यक्ष विष्टले हमालले गर्नुभएको सहयोगले अन्य व्यक्ति तथा संघसंस्थालाई समेत सामाजिक सेवामा लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले समाजमा रहेका असहाय नागरिकको सहयोगका लागि स्थानीय सरकारसँगै सामाजिक संघसंस्था र व्यक्तिको पनि महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो।
वाईसिएल राप्तीका अध्यक्ष हमालले मानवीय सेवाको भावनाले आश्रमलाई सहयोग गरिएको बताउनुभयो। समाजमा रहेका असहाय तथा बेसहारा नागरिकको सहयोग गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि आफ्नो क्षमताअनुसार सामाजिक सेवाका काममा निरन्तर सक्रिय रहने बताउनुभयो।
निलसागर सेवा आश्रमका अध्यक्ष गरिबु थारुले आश्रमलाई गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगले आश्रम सञ्चालन तथा आश्रित व्यक्तिहरूको दैनिक व्यवस्थापनमा ठूलो टेवा पुग्ने बताउनुभयो।
हमालले यसअघि पनि बेसहारा तथा विपद्मा परेका व्यक्तिहरूलाई विभिन्न माध्यमबाट सहयोग गर्दै आउनुभएको छ। उहाँ विभिन्न समयमा सामाजिक तथा मानवीय सेवाका गतिविधिमा समेत सक्रिय रहँदै आउनुभएको छ।
हाल निलसागर सेवा आश्रममा ७ महिला र २८ पुरुष गरी ३५ जना आश्रित रहेका छन्।



लाइभदाङ । २९ कार्तिक २०८३, शनिबार २१:२३ बजे