
दाङ, २४ कार्तिक ।
तिहार पर्वलाई लक्षित गर्दै अवैध रूपमा पटका पड्काउने तथा बिक्री वितरण गर्ने गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको छ ।
यसैक्रममा अस्थायी प्रहरी पोस्ट बसपार्कका प्रहरी सहायक निरीक्षक दिग्बिजय केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले तुलसीपुर बसपार्क क्षेत्रका विभिन्न पसलबाट करिब ६ हजार थान पटका बरामद गरेको छ ।
तिहारका बेला पटका पड्काउँदा आगलागी, दुर्घटना तथा जनधनको क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले अवैध रूपमा पटका बिक्री वितरण तथा प्रयोग गर्ने गतिविधिमाथि निगरानी बढाएको हो । प्रहरीका अनुसार करिब ७० हजार बराबरको पटका बरामद गरिएको हो ।
प्रहरीले चाडपर्वको समयमा शान्ति सुरक्षा कायम राख्न र सम्भावित दुर्घटना न्यूनीकरण गर्न बजार क्षेत्रमा निगरानीलाई थप प्रभावकारी बनाएको जनाएको छ ।
अवैध रूपमा पटका बिक्री वितरण नगर्न तथा प्रयोग नगर्न प्रहरीले सर्वसाधारण र व्यवसायीलाई आग्रहसमेत गरेको छ ।



लाइभदाङ । २५ कार्तिक २०८३, मंगलवार ११:१९ बजे