दाङमा ठूलो संख्यामा जुवाडे पक्राउः पक्राउ पर्नेमा भुपबहादुर डाँगीदेखि ओविन्द्र महरासम्म 

दाङ, २८ कात्तिक ।
दाङमा जुवाको खालवाट चर्चित अनुहारहरु पक्राउ परेका छन् । काँग्रेस नेता भुपबहादुर डाँगीसहित ब्यबसायी ओविन्द्र महरा समेत पक्राउ परेको प्रहरी स्रोतले बताएको छ ।

शनिबार साँझ दाङको घोराहीबाट १७ जना जुवाडे पक्राउ परेका हुन् । दुई वटा जुवाको खालबाट ५ लाख बढि रकमसहित पक्राउ गरिएको हो । घोराही उपमहानगरपालिका १५ जानकी टोलस्थित भुपबहादुर डाँगीको घरमा प्रहरीले छापा मार्दा ८ जना पक्राउ परे ।

जहाँबाट १ लाख ४ हजार ५ सय ८० रुपैयाँ नगद र तीन गड्डी ताससहित घरधनी ६८ बर्षीय डाँगी, घोराही १५ जानकी टोलका ६० वर्षीय केशरबहादुर पछाई, ६४ वर्षीय लुमासिंह बस्नेत, ६५ वर्षीय निमबहादुर पुन, ५२ वर्षीय गिरीराज केसी, घोराही १४ का ५३ वर्षीय ओबिन्द्र महरा, घोराही १६ का ४७ वर्षीय तारा डाँगी र रोल्पाको रुन्टीगढी गाउँपालिका ५ का ३९ वर्षीय हिरालाल रावत रहेका छन् ।

पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ पर्ने घरधनी डाँगी काँग्रेस दाङका नेता हुन् । उनी यस अघि पार्टीको जिल्ला सभापतिको उम्मेदवार थिए । उनी २०७४ सालको स्थानीय निर्वाचनमा घोराही उपहानगरपालिकाको नगरप्रमुखका उम्मेदवार थिए, भने २०७९ मा उपप्रमुखको उम्मेदवार थिए । दुबै पटक उनी पराजित भए ।

त्यस्तै घोराही उपमहानगरपालिका १८ नवलपुरस्थित बसन्त बुढाथोकीको घरमा जुवातास खेलिरहेको अबस्थामा ४ लाख ८ हजार १ सय २० रुपैयाँ नगद र तीन गड्डी ताससहित ९ जना पक्राउ परे ।


पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ स्वर्गद्वारी टोलका ४८ वर्षीय नवलसिंह डाँगी, घोराही १३ डुमरगाउँ बस्ने रोल्पाको माडी गाउँपालिका ४ तालाबाङका ४३ वर्षीय निमबहादुर भण्डारी , माडी गाउँपालिका ३ तालाबाङका ४३ वर्षीय तुलबहादुर खड्का, रोल्पाको माडी गाउँपालिका–४ तालाबाङ स्थायी ठेगाना भई हाल घोराही–१४ जनचेतना टोलमा बस्ने ३५ वर्षीय रामकृष्ण खड्का, घोराही–१८ नवलपुरका ४७ वर्षीयय घरधनी बसन्त बुढाथोकी, घोराही–१४ का ४० वर्षीय यदुनाथ पाण्डे, घोराही–१० नारायणपुर स्थायी ठेगाना भई हाल वडा नं.१५ बस्ने ४० वर्षीय हिमराज केसी, घोराही–१४ का ३५ वर्षीय निमेश भण्डारी र नयाँबजारका ४१ वर्षीय चन्द्रदेव बुढा पक्राउ परेका छन् ।

पक्राउ परेका सबै १७ जनालाई जिल्ला प्रहरी कार्यालय दाङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीको नेतृत्वको टोलीले यसरी जुवाको खालबाट चर्चित अनुहारहरु पक्राउ गरेको हो ।