नियममा बाँधिएपछि टोल बन्यो सुन्दर

दीपक बोहरा
दाङ, २४ कात्तिक ।
दाङको राप्ती गाउँपालिका वडा नं. ८ स्थित पार्विक टोल विकास संस्थामा आजभोलि एउटा फरक दृश्य देखिन्छ । करिब एकसय ४० घरधुरी रहेको यो टोलका बाटाघाटा सफा छन्, ठाउँ–ठाउँमा स्ट्यान्डसहितका डस्टबिनहरू राखिएका छन् । सडक वरपर सयपत्रीका फुलले टोललाई नै सुन्दर देखाउछ । जथाभाबी फोहोर फालिदैन ।

स्थानीय समुदायले निर्णय नै गरेर टोलमा यी कार्य भएको टोल विकास संस्थाका अध्यक्ष दिलबहादुर खत्रीले बताउनुभयो ।“सुरुका दिनहरूमा सडकमा जथाभाबी पशुचौपाया बाँध्ने, जथाभावी फोहोर फ्याँक्ने ठूलो समस्या थियो”,उहाँले भन्नुभयो“ सडक र नालामा फोहोर फाल्ने घर–घरमा प्लास्टिक जलाउने गरिन्थ्यो, तर अहिले त्यस्तो छैन ।”

सुरुवाती चरणमा टोलमा डस्टबिन नहुँदा बिजुलीका हरेक खम्बामा बोराहरू झुण्ड्याएर फोहोर संकलन सुरु गरिएको थियो । हाल भने स्ट्यान्ड बनाएरै ठाउँ–ठाउँमा डस्टबिनहरू राखिएका छन् । प्लास्टिक प्रदूषण रोक्न टोलभित्र प्लास्टिक जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ । कसैले प्लास्टिक जलाएको देखेर गोप्य सूचना दिएमा इनाम दिने र जलाउनेलाई कारवाही समेत गर्ने गरिएको छ । जसका कारण अहिले टोलमा प्लास्टिक जलाउने कार्य पूर्ण रूपमा रोकिएको छ ।


टोलको बैठकले ‘आफ्नो गाउँ आफैँ बनाउनुपर्छ’ भन्ने संकल्पकासाथ नियम बनाएपछि यसरी टोल सुधार भएको उहाँको भनाई छ । उहाँका अनुसार टोलको निर्णय नमान्ने तथा जथाभावी प्लाष्टिक जलाउनेलाई पाँचसय रुपैँया जरिवाना समेत गर्ने गरिएको छ । यही सामाजिक अनुशासनको जगमा टेकेर पार्विक टोल रुपान्तरण भएको अध्यक्ष खत्रीले बताउनुभयो ।

टोलको सरसफाइ र व्यवस्थापनलाई सहज बनाउन तीन वटा सेक्सन समेत बनाईएको छ । प्रत्येक सेक्सनका प्रतिनिधिहरूको अगुवाइमा प्रत्येक महिनाको अन्तिम शनिबार सम्पूर्ण टोलवासी भेला भई सरसफाइ गर्ने समेत गरिएको छ ।