
दाङ, २६ कार्तिक ।
देउसी–भैलीको नाममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा दाङ, सल्यान र गुल्मीका तीन युवती पक्राउ परेका छन् ।
रुपन्देहीका विभिन्न स्थानमा आयोजित देउसी–भैली कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका–४ की २२ वर्षीया पूजा ठकुरी, दाङको गढवा गाउँपालिका–७ की २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका–६ की २४ वर्षीया विपना मगर रहेका छन् ।
उनीहरूलाई बुधबार सिद्धार्थनगर नगरपालिका–७ कान्छीबजारबाट वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका तीनै जनामाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
देउसी–भैली नेपाली मौलिक संस्कृति र परम्परासँग जोडिएको पर्वीय सांस्कृतिक गतिविधि हो । पछिल्लो समय यसको मौलिकता, प्रस्तुति र सांस्कृतिक मर्यादाका विषयमा समेत बहस हुँदै आएको छ ।



लाइभदाङ । २७ कार्तिक २०८३, बिहीबार १९:२४ बजे