पेट्रोल छर्केर आगो लगाइएका चौधरीको उपचारका क्रममा मृत्यु

दाङ, २९ कार्तिक ।
दाङको राजपुर गाउँपालिकामा पेट्रोल छर्केर आगो लगाइएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

राजपुर गाउँपालिका–२ का ४९ वर्षीय रुपलाल चौधरीको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार चौधरीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।

शनिबार दिउँसो करिब २ बजेर २० मिनेटमा राजपुर गाउँपालिका–२ खालगैरामा सोही ठाउँका ३८ वर्षीय त्रिलोक सिंह कार्कीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर चौधरीको शरीरमा छर्की आगो लगाएको प्रहरीले जनाएको छ ।


घटनापछि फरार रहेका कार्कीलाई प्रहरीले खोजतलास गर्ने क्रममा लमही नगरपालिका–५ रातोडाँडाबाट नियन्त्रणमा लिएको थियो । आगोले जलेर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि लमही अस्पताल पुर्याइएको थियो ।

त्यहाँबाट थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल रिफर गरिएको थियो । घटनामा संलग्न कार्कीलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।