खाजाखर्च कटाएर विद्यार्थीले भोटेकोसी बाढीपीडितका लागि जुटाए ६ हजार ७२० रुपैयाँ

आलोक भावुक
राजपुर, १८ भदौ
श्री शंकर माध्यमिक विद्यालय राजपुर गाउँपालिका ३, खरदरियाका कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजाखर्च कटाएर भोटेकोसी बाढीपीडितका लागि सहयोग रकम संकलन गरेका छन्। विद्यार्थी भाइबहिनीहरूले आफूले सकेको रकम स्वेच्छिक रूपमा संकलन गरी रु. ६ हजार ७२० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। विपद्को समयमा सानो उमेरमै सामाजिक उत्तरदायित्व र मानवीय भावनासहित विद्यार्थीहरूले आफ्नो खाजाखर्चबाट रकम बचाएर पीडितका लागि सहयोग गर्नु उदाहरणीय कार्य भएको विद्यालयले जनाएको छ।


विद्यार्थीहरूको यो सहयोगले बाढीपीडितप्रति उनीहरूको संवेदना, सहयोगी भावना र सामाजिक उत्तरदायित्वको भावना झल्काएको छ। विद्यालय परिवारले सहयोग गर्ने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई धन्यवाद व्यक्त गरेको छ।