
तुलसीपुर, १५ भदौ ।
भोटेकोशीका बाढीपीडितहरूको उद्धार र राहतका लागि दाङको गोरखा गु्रपले १० लाख १ हजार १ सय ४७ रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम दाखिला गरेको ग्रुपका प्रमुख कार्यकारी अधिकृत नवल जीएमले बताए ।
उनका अनुसार ग्रुप अन्तर्गतका सबै विद्यालयहरु तथा शिक्षकहरुबाट संकलन गरिएको रकम कोषमा जम्मा गरिएको हो । जस अनुसार गोरखा स्कुल घोराहीबाट २ लाख ५३ हजार, तुलसीपुरबाट २ लाख ३१ हजार ४ सय ४५, लमहीबाट १ लाख ५६ हजार, लालमटियाबाट ७९ हजार र तुलसीपुर रेसिडेन्सिएल स्कुलबाट ४५ हजार १ सय ३३ रुपैयाँ संकलन भएको थियो।
त्यसैगरी, भिक्टोरीया कलेजबाट ५० हजार ४ सय ५८, गोरखा मोडेल कलेज तुलसीपुरबाट ५० हजार, स्वर्णीम देउखुरी कलेजबाट ३५ हजार र गोरखा पब्लिक हस्पिटलबाट १ लाख १ हजार १ सय ११ रुपैयाँ उक्त कोषमा दाखिला गरिएको हो ।
कठिन घडीमा पीडित परिवारलाई सहारा पुग्ने विश्वास सहित उक्त रकम सहयोग गरिएको ग्रुपका शैक्षिक निर्देशक दुर्गा केसीले बताए । ग्रुप शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा क्रियाशील रहेको छ ।



लाइभदाङ । १५ भाद्र २०८३, सोमबार १९:३४ बजे