
आलोक भावुक
गढवा, १३ भदौ ।
रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीपछि दाङको गढवा गाउँपालिकाका तीन जना सम्पर्कविहीन भएका छन्। बाढी आएको दिनदेखि उनीहरू परिवारको सम्पर्कमा नआएपछि परिवारजन चिन्तित बनेका छन्। गढवा गाउँपालिका ६ खबरी निवासी तार्के पुनका ३१ वर्षीय छोरा ज्ञानु पुन रसुवामा बाढी आएको दिनदेखि सम्पर्कविहीन भएका हुन्। परिवारका अनुसार उनी सोही दिन गाडी लिएर केरुङ भन्सारतर्फ गएका थिए। बाढीपछि हालसम्म उनको अवस्था र धजभचभबदयगतक बारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। ज्ञानु पुनकी श्रीमती देब्री तामाङका अनुसार उनीसँग सम्पर्क हुन नसकेको हो।
त्यसैगरी गढवा गाउँपालिका ३ रतनपुर निवासी दीप प्रकाश चौधरी पनि बाढीपछि सम्पर्कविहीन भएका छन्। रसुवा जिल्लामा सिपाहीका रूपमा कार्यरत चौधरी बाढी आएपछि परिवारको सम्पर्कमा नआएको जनाइएको छ। त्यस्तै, गढवा गाउँपालिका ४ निवासी श्याम चौधरी पनि नुवाकोटस्थित त्रिशूली ३ बी जलविद्युत आयोजनाबाट सम्पर्कविहीन भएका छन्। आयोजनामा कार्यरत चौधरीसँग बाढीपछि सम्पर्क हुन नसकेको परिवारले जनाएको छ। अचानक आएको बाढीका कारण आयोजना क्षेत्रमा ठूलो क्षति पुगेको र त्यहाँ कार्यरत केही कर्मचारी तथा कामदारसँग सम्पर्क हुन नसकेको अवस्था रहेको बताइएको छ।
गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्मा पोख्रेलका अनुसार हालसम्म गाउँपालिकाका तीन जना सम्पर्कविहीन भएको जानकारी आएको छ। उनीहरूको खोजीका लागि गाउँपालिकाले विभिन्न निकायसँग निरन्तर समन्वय र सहकार्य गरिरहेको छ। अध्यक्ष पोख्रेलका अनुसार गाउँपालिकाका विभिन्न वडाबाट बाढी प्रभावित क्षेत्रमा जाने नागरिकहरूको समेत तथ्याङ्क संकलन गर्ने काम भइरहेको छ। बाढीपछि सम्पर्कविहीन तीनै जनाको अवस्था हालसम्म यकिन हुन नसकेपछि परिवारजन उनीहरू सकुशल भेटिने आशामा प्रतीक्षारत छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले थप सक्रियता बढाउनुपर्ने परिवारजनको अपेक्षा छ।
सम्पर्कका लागिस्
यम नारायण शर्मा पोख्रेल: ९८०९८९७५००
आलोक भावुक: ९८२३५७५२०८
इप्रका गढवा: ९८५७८४२५००
ज्ञानु पुनकी श्रीमती देब्री तामाङ: ९७४२९२९५९८
दीप प्रकाश चौधरी परिवार: ९८०६२२५०२६
श्याम चौधरीकी श्रीमती श्रृष्टी चौधरी: ९८४३११६५२१



लाइभदाङ । १३ भाद्र २०८३, शनिबार १४:१६ बजे