शिकारीको गोलीबाट सशस्त्र प्रहरीको मृत्यु

दाङ, २५ कार्तिक ।
शिकारीको गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल २८ नम्बर गणमा कार्यरत घोराही ७ हनर्‍याका जुगरू चौधरीको जनसेवा सामुदायिक वनमा शिकारीले चलाएको गोली लागेर मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

प्रहरी अनुसार चौधरी कार्तिक २३ गते बिहान जंगलमा लागेर मृत्यु भएको अवस्थामा फेला परेका थिए । उनको छाती ५ ठाउँ र पिठ्युमा एउटा गरी ६ वटा भरूवा बन्दुकको छर्रा लागेको छ ।


उनलाई गोली हानेको अभियोगमा प्रहरी घोराही ५ बराला बोटका ५५ वर्षिय शेरबहादुर केसीलाई गएराति १ बजे भरूवा बन्दुक सहित पक्राउ परेको छ । पक्राउ परेका केसीले मालुको बोटमा गुना बसेको ठानेर आफूले गोली हानेको बयान प्रहरीलाई दिएका छन् ।

प्रहरीका अनुसार सशस्त्र प्रहरी जवान बिदामा घर आएका बेला मालुको पात टिप्न जंगल गएका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिएका छन् ।