
तुलबहादुर कवँर मगर
मसुरिया, ८ भदौ ।
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले हासिल गरेको सफलतामा स्वास्थ्यकर्मीहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै धन्यवाद ज्ञापन गर्नुभएको छ।
आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको मूल्याङ्कनमा राप्ती गाउँपालिका दाङ जिल्लामै उत्कृष्ट घोषित भएपछि सोमबार गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष विष्टले स्वास्थ्यकर्मीलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको हो।
राप्ती गाउँपालिका स्वास्थ्य क्षेत्रमा पाँचौँ पटक जिल्लामै प्रथम हुन सफल भएको उल्लेख गर्दै अध्यक्ष विष्टले यो उपलब्धि स्वास्थ्यकर्मीहरूको निरन्तर मेहनत, लगनशीलता, जिम्मेवारीबोध र सेवाभावको परिणाम भएको बताउनुभयो।
“राप्तीलाई स्वास्थ्य क्षेत्रमा जिल्लामै उत्कृष्ट बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण स्वास्थ्यकर्मीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु,” अध्यक्ष विष्टले भन्नुभयो, “तपाईहरूको मेहनतकै कारण राप्तीले लगातार पाँचौँ पटक जिल्लामै उत्कृष्ट बन्न सफल भएको हो।”
अध्यक्ष विष्टले प्राप्त उपलब्धिलाई जोगाउँदै आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर अझ सुधार गर्नुपर्नेमा जोड दिनुभयो। एकपटक उत्कृष्ट हुनु मात्र पर्याप्त नभएको भन्दै उहाँले उत्कृष्टताको निरन्तरता कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले नागरिकले सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्न स्वास्थ्यकर्मीको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताउँदै स्वास्थ्य क्षेत्रलाई पालिकाले प्राथमिकतामा राखेर आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा प्रशासन शाखा प्रमुख पृथ्वी पाैडेल,स्वास्थ्य शाखा प्रमुख नारायण राउत लगायत गाउँपालिकाअन्तर्गतका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।



लाइभदाङ । ८ भाद्र २०८३, सोमबार २०:३१ बजे