तुलसीपुरका १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर शुरू

कपिल लामिछाने
तुलसीपुर, ३ असार ।
तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा स्वास्थ्य महाशाखा तुलसीपुर दाङको समन्वयमा आज (आईतबार) बाट तुलसीपुर उपमहानगरपालिकाका १९ वटा वडामा निःशुल्क स्वास्थ्य शिविर शुरू भएको छ ।

वडा नं. १८ बाट शुरू भएको स्वास्थ्य शिविर १९ वटा वडामा सञ्चालन गरिने भएको छ । नाक,कान,घाँटी,आँखा लगाएत जेष्ठनागरिकहरूका विभिन्न रोगहरु, प्रजनन सम्बन्धी विशेष चेकजाँच तथा परामर्श, महिला रोग सम्बन्धी विशेष चेकजाँच लगाएतकासेवाहरु उक्त शिविरबाट पाईने भएको छ । उक्त शिबिरमा नाक,कान,घाँटी रोग विशेषज्ञ,जनरल फिजिसियन,आँखा रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, महिला तथा स्त्री रोग विशेषज्ञ लगाएतका तालीम प्राप्त डाक्टरहरुको सहभागिता रहेको छ ।

निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले जेष्ठनागरिकहरुको सुविधाका लागी विशेष गरि यो कार्यक्रम लागु गरेको र हामीले चुनाबमा घोषणा गरेको चुनावी नारा अनुसार प्रत्येक गाउँगाउँमा बिरामी परेका वा विभिन्न समस्याबाट ग्रसित नगरबासीहरुलाई उहाँहरुको स्वास्थ्य अवस्थाका बारेमा मात्रै सोध्ने होईन ।


उहाँहरुलाई चाहिने औषधी र परामर्श गर्ने डाक्टर समेत उपलब्ध गराउने उदेश्यले यो अभियान सुरु गरिएको बताउनुभयो । साथै उहाँले कोहि पनि स्वास्थ्य सेवालिनबाट बञ्चित नहुन अनुरोध समेत गर्नुभयो । उक्त उद्घाटन कार्यक्रममा ३० जना जेष्ठ नागरिकहरुलाईसाहाराका लागी मेयर खड्काले लठ्ठी उपहार समेत दिनुभएको थियो । आज बिहान १२ बजेबाट सुरु भएको शिविरमा विभिन्न रोगका १ सय ५० जनाले सेवा लिनुभएको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष माधव वलीको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिकाका मेयरटिकाराम खड्काको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रम स्वास्थ्य महाशाखा तुलसीपुरका प्रमुख ओम पि न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा तुलसीपुरका प्रमुख बिष्णु गिरीले गर्नुभएको थियो ।