
दाङ, ०७ भदौ ।
काठमाडौंमा अध्ययनरत २२ वर्षीय छोरा वसन्त कालाथोकीको हत्या भएको खबर सुनेपछि दाङमा उनकी आमाको पनि मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका-१७, जनप्रिय टोलकी ३८ वर्षीया बिना कालाथोकीको शनिबार दिउँसो मृत्यु भएको हो । काठमाडौं महानगरपालिका-१०, शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा बसेर अध्ययन गरिरहेका वसन्तको शुक्रबार कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
छोराको हत्या भएको खबर सुनेपछि बिनाको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार शनिबार दिउँसो करिब ३ बजे बिनाको घरमै मृत्यु भएको हो ।
घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट चौघेराबाट प्रहरी सहायक हवल्दार अमर गैह्रेको कमान्डमा दुई जना तथा जिल्ला प्रहरी कार्यालय घोराहीबाट प्रहरी निरीक्षक एक्कबहादुर नेपालीको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले घटनास्थलको मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरेपछि शनिबार बेलुकी करिब ४ बजे बिनाको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा पु¥याएको थियो । शव अहिले प्रतिष्ठानको शवगृहमा राखिएको छ ।
घोराही उपमहानगरपालिका-१७ का वडाध्यक्ष रामलौटन चौधरीका अनुसार बिनाका श्रीमान् रोमहर्ष कालाथोकी वैदेशिक रोजगारीका क्रममा मलेसियामा छन् । उनी नेपाल फर्किएपछि मात्र बिनाको पोस्टमार्टम गरिने भएको छ । रोमहर्ष मलेसियाबाट नेपालतर्फ हिँड्ने तयारीमा रहेको वडाध्यक्ष चौधरीले बताए ।
वडाध्यक्ष चौधरीका अनुसार वसन्तको हत्याको खबर बिनालाई एकाएक सुनाइएको थियो । छोराको हत्या भएको खबर सुनेपछि उनी विक्षिप्त बनेकी थिइन् । वसन्तको मृत्युको खबर सहन नसकेकी बिना घरमा एक्लै रहेका बेला मृत्यु भएको वडाध्यक्ष चौधरीले बताए ।
बिनाको मृत्युपछि उनका ११ वर्षीय कान्छा छोरा शिशिरलाई हजुरबुबाले आफ्नो घरमा लगेर राखेका छन् । परिवारका बुबा वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका बेला जेठो छोराको हत्या र त्यसको खबर सुनेपछि आमाको समेत मृत्यु भएपछि परिवारमा ठूलो वियोग परेको छ ।
घटनापछि परिवारजन, आफन्त र सिंगो गाउँ शोकाकुल बनेको छ । वडाध्यक्ष चौधरीसहित स्थानीय जनप्रतिनिधि, आफन्त तथा छिमेकीहरू शोकमा डुबेको परिवारलाई ढाडस दिन घरमा पुगिरहेका छन् । एकै परिवारमा छोटो समयमै भएका दुईवटा दुःखद घटनाले गाउँ नै स्तब्ध बनेको छ ।
वसन्त रोजगारीका लागि फ्रान्स जाने तयारीमा काठमाडौंमा बसेर अध्ययन गरिरहेका थिए । उनी करिब पाँच-छ महिनादेखि होस्टलमा बसेर भाषा अध्ययनसँगै फ्रान्स जाने तयारीमा थिए । यस क्रममा उनी समय-समयमा दाङस्थित घर आउने-जाने गर्दै आएका थिए ।
वसन्तको हत्या आरोपमा सोही होस्टलमा बस्दै आएका बारा, कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादव प्रहरी नियन्त्रणमा छन् । प्रहरीका अनुसार उनीहरूले वसन्तको टाउको र घाँटीलगायतका भागमा कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेका थिए ।
गम्भीर घाइते अवस्थामा उद्धार गरिएका वसन्तलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनापछि फरार रहेका प्रमित पटेललाई प्रहरीले शनिबार दिउँसो मकवानपुरबाट पक्राउ गरी काठमाडौं लगेको छ ।
अर्का आरोपी शेखर यादवलाई भने प्रहरीले काठमाडौंमै नियन्त्रणमा लिएको थियो । वसन्तको हत्या घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लाइभदाङ । ७ भाद्र २०८३, आईतवार १०:१४ बजे