
तुलसीपुर, ६ भदौ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.८ स्थित मावि अस्वारामा कक्षा ११ की छात्रा निरुता घर्ती बाहिरा विद्यार्थी हुनुहुन्छ । तर, उहाँ शुक्रबार बक्तृत्वकला प्रतियोगितामा आफ्ना कुरा राख्नुभयो । सांकेतिक भाषको माध्यमबाट आफ्ना कुरा राख्दै भन्नु भयो “हामीले जीवनमा राम्रो कर्म ग¥यौं भने मात्र हाम्रा साथीहरू बढ्छन ।”
उहाँको यो सरल अभिव्यक्तिले मानिसको बोलीभन्दा व्यवहार र कर्म नै उसको सबैभन्दा ठूलो चिनारी हो भन्ने कुरालाई प्रष्ट पारेको थियो ।
त्यस्तै सोही कक्षाकी गोमा खड्काले आफ्नो कुरा सांकेतिक भाषामा राख्दै भन्नुभयो “हामीले राम्रो काम ग¥यौं, भने मात्र थुप्रै साथीहरूले प्रेरणा पाउँछन् र हाम्रो आपसी सम्बन्ध प्रगाढ बन्दछ ।’
त्यस्तै कक्षा ९ की छात्रा हिरा विकले असल कर्म गर्नुपर्छ भन्ने सबैलाई थाहा भएपनि हाम्रा वरपरका नराम्रा काम र प्रभावहरूले साना बालबालिकाहरूमा असर गरिरहेको बताउनुभयो । उहाँहरुजस्तै बहिरा बालबालिकाहरुले ‘मेरो कर्मले वरिपरिका मानिसहरूलाई कसरी बलियो र प्रेरित बनाउँछ’ शीर्षकमा सांकेतिक भाषा मार्फत आफ्नो विचार ब्यक्त गरेका थिए । अप्टिमिष्ट क्लब अफ तुलसीपुरको आयोजनामा मावि अस्वारामा रहेका बहिरा बालबालिकाहरुकालागि उक्त प्रयोगिता आयोजना गरिएको हो । क्लबका अध्यक्ष नोबेल डीसीका अनुसार त्यस्ता विद्यार्थीहरुको प्रतिभालाई बाहिर ल्याउनकालागि यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाका अधिकृत मनबहादुर खड्काले बोल्न नसक्ने बालबालिकाहरूले पनि यसरी वक्तृत्वकलामा भाग लिएर आफ्ना भावना राख्न सक्नुले उनीहरुको प्रतिक्षा प्रस्तुत गर्न मद्दत गरेको बताउनुभयो । विद्यालयका निमित्त प्रधानाध्यापक टेकप्रसाद भण्डारीले यस्ता कार्यक्रमले विद्यार्थीहरुको मनोबल बढ्ने बताउनुभयो । त्यस अवसरमा बक्तृत्व कलाबाट प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै सोही विद्यालयमा अध्ययनरत बहिरा बालबालिकाहरुकालागि शैक्षिक सामग्री समेत वितरण गरिएको थियो । मावि अस्वारामा बहिरा बालबालिकाले अध्ययन गर्ने गरेका छन् । जहाँ सांकेतिक भाषाका शिक्षकहरु समेत राखिएको छ ।
बरिष्ठ उपाध्यक्ष मेघराज पोख्रेलले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा जनसम्पर्क अधिकारी विष्णु कमल न्यौपानेले अप्टिमिष्ट क्रिड बाचन गरेका थिए, भने सहजीकरण महासचिब दीपक बोहराले गरेका थिए । क्लबका सचिब स्मृति योगीले समन्वय गरेको कार्यक्रममा प्रमुख सल्लाहकार विष्णु प्रसाद देवकोटालगायतको सहभागिता रहेको थियो ।



लाइभदाङ । ६ भाद्र २०८३, शनिबार ०६:४७ बजे