
दीपक बोहरा
दाङ, ३० साउन ।
सल्यानको बाघचौरबाट तुलसीपुर आएर ज्ञान ज्योति स्कुलमा विज्ञान विषय पढ्दै गरेकी यमूना डीसीका लागि बितेका पाँच दिन निकै कष्टकर रहे । कोठामा ग्यास सकिएपछि उहाँ ग्यासका लागि निकै भौतारिनु प¥यो । “पाँच दिनदेखि होटलमा खाना खानु परिरहेको थियो, बिहान ३ बजेदेखि दिउसो ३ बजेसम्म लाइन लाग्नुपर्ने अवस्था थियो”,उनले भने “तर, ग्यास पाउन सकिएको थिएन ।”
उनी जस्तै सल्यानकै अर्को विद्यार्थी आयुस डीसीको कथा पनि उस्तै छ। ग्यास नपाएर चार–पाँच दिनदेखि हैरानी ब्यहोरेको उनले बताए । “चार–पाँच दिन देखि लाइन लाग्दा पनि ग्यास पाउन सकिएको थिएन”, उनले भने “ ग्यास नपाएपछि होटलमा गएर खानु पथ्र्यो ।”
यसरी बाहिरी जिल्लाबाट आएर कोठा भाडामा बस्ने विद्यार्थीहरुकालागि ग्यासको निकै समस्या हुन थालेपछि शुक्रबार नेपाल आयल निगमले ग्यास वितरण गरेको हो । विहीबार तुलसीपुर क्षेत्रका सरोकारवाला निकायहरुबीचको बैठकले विद्यार्थी, अपाङ्गता भएका ब्यक्ती, असहाय, गर्भवति तथा सुत्केरी महिलाहरुकालागि ग्यास वितरण गर्ने निर्णय भएपछि शुक्रबारदेखि ग्यास वितरण थालिएको नेपाल आयल निगम वितरण केन्द्र तुलसीपुरका प्रमुख विनोद बस्नेतले बताए । तुलसीपुर उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय तुलसीपुर, इलाका प्रहरी कार्यालय तुलसीपुर, तुलसीपुर क्षेत्रका ग्यास विक्रेताको रोहबरमा एकसय ६४ जना विद्यार्थीहरुलाई ग्यास वितरण गरिएको हो ।“ साच्चिकै विद्यार्थीलाई जो चाहिँ कोठा भाडामा लिएर बसेका छन्, उनीहरूले भोकै बस्नु परेको र चाउचाउ खाएर अध्ययन गरिरहेको अवस्था हामीकहाँ सुन्नमा आएको थियो”, उनले भने“ त्यसपछि यसरी पहल थालिएको हो ।”
तुलसीपुर उपमहानगरपालिकाले त्यस्ता विद्यार्थीहरूका लागि अनलाइन फारम भरेको थियो । त्यही फारामका आधारमा ग्यास वितरण गरिएको हो । राप्ती र भेरी ग्यास वितरण गरिएको थियो । टरिगाउँ विमानस्थलबाट ग्यास वितरण गरिएको हो । दुईसय १५ ग्यास वितरण गर्ने लक्ष्य राखिएको भएपनि एकसय ६४ जना मात्रै विद्यार्थीहरुले त्यसरी ग्यासको फाराम भरेको प्रमुख बस्नेतको भनाई छ । उनका अनुसार शुक्रबार विद्यार्थीहरुलाई छुट्याएको र अन्य लक्षित बर्गहरुलाई पनि यसरी नै पालैपालो उपलब्ध गराउने छ ।



लाइभदाङ । ३० श्रावण २०८३, शनिबार १६:२८ बजे