
घोराही, २९ साउन ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवा प्रभावकारी, चुस्त–दुरुस्त तथा व्यवस्थित बनाउने उद्देश्यले ओपीडी टिकट काउन्टर थप गरिएको छ। प्रतिष्ठानमा उपचारका लागि आउने स्वास्थ्य बीमा सेवाग्राहीको संख्या बढ्दै गएपछि टिकट वितरणमा हुने भीडभाड तथा लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै थप एक काउन्टर सञ्चालनमा ल्याइएको हो।
यसअघि प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवाका लागि दुई वटा ओपीडी टिकट काउन्टर सञ्चालनमा रहेका थिए। सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न थप एक वटा काउन्टर वृद्धि गरिएपछि हाल तीन वटा ओपीडी टिकट काउन्टर सञ्चालनमा रहेका छन्। काउन्टर थपिएसँगै टिकट वितरण प्रक्रियालाई छिटो, सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
प्रतिष्ठानमा पछिल्लो समय उपचारका लागि आउने बिरामीको संख्या निरन्तर बढ्दै गएको छ। विशेषगरी स्वास्थ्य बीमामार्फत सेवा लिन आउने सेवाग्राहीको संख्या उल्लेख्य रहेकाले टिकट लिन काउन्टरमा भीड हुने गरेको थियो। सेवाग्राहीको समयमै टिकट वितरण गर्न तथा स्वास्थ्य बीमा सेवामा देखिएको चापलाई व्यवस्थापन गर्न काउन्टर थप गरिएको प्रतिष्ठानले जनाएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक तथा सह–प्राध्यापक डा। सुरेश रसाइलीले स्वास्थ्य बीमा सेवाका सेवाग्राहीलाई सहज र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले ओपीडी टिकट काउन्टर थप गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार सेवाग्राहीको चापअनुसार सेवा प्रवाहलाई व्यवस्थित गर्दै लैजाने क्रममा काउन्टर थप गरिएको हो। थप काउन्टर सञ्चालनमा आएपछि टिकट लिन लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता कम हुनुका साथै बिरामीले उपचार प्रक्रियामा छिटो प्रवेश पाउने अपेक्षा गरिएको छ।
“स्वास्थ्य बीमा सेवामार्फत उपचार लिन आउने सेवाग्राहीलाई सहज र छिटो सेवा दिने उद्देश्यले काउन्टर थप गरेका हौँ,” निमित्त अस्पताल निर्देशक डा। रसाइलीले भन्नुभयो, “सेवाग्राहीको चाप र आवश्यकताअनुसार सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै लैजाने हाम्रो प्रयास हो।”
प्रतिष्ठानले स्वास्थ्य बीमा सेवामात्र नभई समग्र ओपीडी सेवामा आउने बिरामीको चापलाई व्यवस्थापन गर्न सेवा प्रवाहलाई क्रमशः सुधार गर्दै आएको जनाएको छ। टिकट वितरणदेखि चिकित्सकीय परामर्श तथा अन्य आवश्यक सेवासम्म सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रतिष्ठानले विभिन्न व्यवस्थापकीय प्रयास गरिरहेको छ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचारका लागि आउने बिरामीका लागि टिकट काउन्टर पहिलो सेवा बिन्दु भएकाले त्यहाँ हुने भीड र ढिलाइले समग्र उपचार प्रक्रियामै असर पर्न सक्ने भन्दै प्रतिष्ठानले काउन्टरको संख्या बढाएको हो। तीन वटा काउन्टर सञ्चालनमा आएपछि एकै समयमा बढी सेवाग्राहीलाई टिकट उपलब्ध गराउन सकिने र सेवा प्रवाहमा थप सहजता आउने अपेक्षा गरिएको छ।
प्रतिष्ठानका अनुसार आगामी दिनमा बिरामीको चाप, सेवाग्राहीको आवश्यकता र सेवा प्रवाहको अवस्थालाई मूल्याङ्कन गर्दै आवश्यकताअनुसार थप व्यवस्थापन गरिनेछ। स्वास्थ्य बीमा सेवामा सेवाग्राहीले सहज, सरल र समयमै सेवा पाउने वातावरण निर्माण गर्नु प्रतिष्ठानको प्राथमिकतामा रहेको जनाइएको छ।
काउन्टर थप भएसँगै स्वास्थ्य बीमामार्फत उपचारका लागि प्रतिष्ठानमा आउने बिरामी तथा सेवाग्राहीलाई टिकट लिन सहज हुने, लाइन व्यवस्थापनमा सुधार आउने र सेवा प्रवाह थप चुस्त हुने विश्वास गरिएको छ।



लाइभदाङ । २९ श्रावण २०८३, शुक्रबार २१:५४ बजे