प्रादेशिक अस्पताल दुईसय सैया बनाउन जनशक्ती स्वीकृति गर्ने काम भइरहेको छ : मन्त्री चौधरी

 दाङ, २७ फागुन ।

दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई दुईसय सैयाको बनाउने प्रक्रिया अघि बढेको लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्यानमन्त्री इन्द्रजित थारुले बताएका छन् । राप्ती प्रादेशिक अस्पतालको न्यूनतम सेवा मापदण्ड(एमएसएस) को फलोअप तथा सेयरिङ कार्यक्रममा उहाँले यस्तो बताए ।

‘प्रादेशिक अस्पताललाई हामीले २ सय सैया बनाउने कार्यलाई अगाडी बढाएका छौं’,उनले भने‘अहिले जनशक्ती स्वीकृति गर्नकालागि ओएनएमको कार्य भइरहेको छ, तत्काल जनशक्ति स्वीकृत भएमा प्रक्रिया अघि बढ्छ ।’ साबिकको अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल बनाएको तीन बर्ष भएको भन्दै उनले सेवाको गति लिन आबश्यक रहेको बताए । अस्पतालमा भौतिक संरचना निर्माणदेखि जनशक्तिको उचित ब्यबस्थापन भएको र व्यबस्थापकीय पाटो पनि प्रभाबकारी रहेकाले सेवा प्रवाहलाई अझै चुस्त बनाउन आबश्यक रहेको समेत उनले बताए ।


प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको अस्पतालका रुपमा विकास गर्न थालिएको भन्दै त्यसकालागि डीपीआरको काम समेत अघि बढेको उनको भनाई छ । अस्पतालमा जति प्रभाबकारी सेवा भएपनि गुनासो धेरै आउने गरेको समेत बताए ।‘हामीले सेवा राम्रो दिदा दिदै पनि धेरै कुराहरुहरु ब्यबस्थापन गर्न नसक्दा गुनासो धेरै आउने गर्छन्’,उनले भने‘त्यसकालागि लाईनमा हुने भिडभाड ब्यबस्थापन, सरसफाईजस्ता कुराहरुमा पनि ध्यान दिनुपर्छ ।’ साथै उनले प्रादेशिक अस्पतालबाट सिकलसेल उपचार दिने गरि तयारी थालिएको समेत बताए । उनका अनुसार बच्चा जन्मिने वित्तिकै ‘ब्लड स्क्रीनिङ’ गर्ने ब्यबस्था मिलाउने समेत तयारी गरिएको छ । अर्को आर्थिक बर्षदेखि अस्पतालमा एमआरआई सेवा समेत सञ्चालन गर्ने तयारी रहेको मन्त्री थारुले बताए ।

न्यूनतम सेवा मापदण्डमा आफूहरुले फड्को मार्न सफल भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले बताए । उनका अनुसार ६७ प्रतिशत रहेकोमा अहिले ७१ प्रतिशत रहेको बताए । आगामी ६ महिनामा ८० प्रतिशत पु¥याउने लक्ष्य रहेको उनले बताए । अस्पतालले दिने सेवा, व्यबस्थापनलगायतका बिभिन्न सूचकका आधारमा अस्पतालको प्रगति मूल्यांकन गर्ने गरिन्छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले उक्त मूल्यांकन गर्ने गर्छ ।

अस्पतालमा पछिल्लो ६ महिनामा मृत्यु हुनेको संख्या शून्य रहेको निर्देशनालयका कार्यक्रम समन्वय तथा जनसंख्या शाखाका कौशल भण्डारीले बताए । त्यस अवसरमा अस्पतालका बिभिन्न शाखामा कार्यरत कर्मचारीहरुले भवन तथा कर्मचारी अभाब भएको गुनासो गरेका थिए । साथै अस्पालमा नर्सिङ सञ्चार्ज नहुँदा पनि निकै समस्या भएको उनीहरुको गुनासो थियो ।